नीता र हरिहरको फिल्म ‘ह्रस्व दीर्घ’मा साउथका अर्का विश्व प्रख्यात कमेडी कलाकार ब्रह्मानन्दमको पनि प्रवेश।

काठमाडौं := ‘लभ कपल’ नीता ढुंगाना र हरिहर अधिकारीले मिलेर निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’मा श्रृंखलाबद्ध रुपमा साउथका चर्चित कलाकारहरु भित्रिरहेका छन् । ‘पुष्पा’का भिलेन सुनिल वर्मा, ‘गजनी’का भिलेन प्रदीपराज रावत र साउथका चर्चित कमेडी कलाकार अली अनुबन्ध भइसकेको यस फिल्ममा साउथका अर्का विश्व प्रख्यात कलाकार ब्रह्मानन्दमको पनि प्रवेश भएको छ ।

निर्देशक चन्द्र पन्तले ब्रह्मानन्दमसँग कागजी सम्झौता गरेका हुन् । अन्य साउथ कलाकारको दाँजोमा उनलाई मोटो पारिश्रमिक दिइएको जानकारी प्राप्त छ । कमेडी भूमिकामा सर्वाधिक रुचाइएका ब्रह्मानन्दमले संसारमै सर्वाधिक धेरै फिल्म खेल्ने जीवित कलाकारको रुपमा गिनिज बुकमा नाम लेखाएका छन् । कुनै समय उनको नाम मात्रैले पनि साउथ फिल्महरु सुपरहिट हुने गर्थे ।

८० को दशकदेखि तामिल र तेलुगु भाषामा बनेका प्रायः फिल्ममा उनले अभिनय गरेका छन् । उनले दक्षिण भारतका अधिकांश अभिनेता र अभिनेत्रीसँग काम गरिसकेका छन् । पछिल्लो समय उनी साउथ सुपरस्टार अल्लु अर्जुनका फिल्ममा सर्वाधिक देखिँदै आएका थिए । तर, केही वर्षयता स्वास्थ्य समस्याले फिल्ममा काम नगरेका ब्रह्मानन्दम नेपाली दर्शकमाझ पनि लोकप्रिय छन् ।

ब्रह्मानन्दमको उपस्थितिले ‘ह्रस्व दीर्घ’को कास्टिङ लाइनअप बलियो बनेको नीताले बताएकी छन् । फिल्मलाई बलिउड छायाँकार कवीरलालले खिच्नेछन् । नेपाल र भारतमा छायांकन हुने फिल्ममा नीता र हरिहरको साथमा सरोज खनाल र सलोन बस्नेतको पनि अभिनय रहनेछ । असोजबाट फ्लोरमा जाने फिल्मलाई भारतको रामोजी स्टुडियोमा छायांकन गरिने निर्माण टिमले बताएको छ ।