रामकुमारी झाँक्रीलाई खुल्ला पत्र: किन अवरुद्ध भयो तपाईको गला ?

माननीय रामकुमारी झाँक्रीज्यू ,

तपाईको आँसुको आशय के थियो ? संयोगले वा नियतवश पत्रिकाले तपाईको अनुहार छाप्यो । तपाईं परिचित हुनुभयो । आन्दोलनकारी लाखौँ थिए । तिनको योगदान तपाईको भन्दा हजारौँ गुणा बढी थियो । मौकामा हान्न जान्ने तपाईं मन्त्री हुनुभयो । तपाईभन्दा योग्य र त्यागी लाखौँ अरू पनि त छन् । तिनीहरू तपाईं मन्त्री हुँदा कोही रोएनन् । तपाईं मन्त्री हुँदा कतै शोकसभा राखेको खबर छापिएन । तपाईविरुद्ध नाराजुलुस लागेको दृश्य पनि टिभी देखाइएन ।

तातो मायाको अन्त्य पनि चाँडो र चिसो हुन्छ । यो तपाईलाई भन्दा बढ्ता अनुभव मलगायत धेरै युवामा छ । हतारको यात्रामा हिँडेकाहरूमध्ये तपाईं पनि एक हुनुहुन्छ ।

अब तपाईलाई राजतन्त्रविरोधी आन्दोलनतर्फ फर्काउँछु । त्यतिबेला म १७ वर्षको थिएँ । भर्खर विद्यार्थी राजिनितिमा जोडिएको थिएँ। आन्दोलनको भिडमा म पनि राजतन्त्रिवरोधी नारा घन्काइरहेका थिए । शिरमा पट्टी बाँधेर राजतन्त्रको पतनका लागि आन्दोलनरत हजारौँको भीडबाट ढुंगामुढा गर्ने दशौँ हजार आन्दोलनकारीमा तपाईलाई नै किन देख्यो क्यामेराले रु यसको जवाफ तपाईसँग छैन होला पनि । राजतन्त्रको अन्त्यका लागि लड्ने हजारौँ योद्धा बलिदानी अनि सहिदको रगतको बलमा तपाईं मन्त्री हुनुभएको हो । तपाईलाई याद छ कि सम्झाउनुपर्छ ?

१८३१ सालदेखिको राजतन्त्र ढल्यो । राजगद्दी त्याग्दा राजपरिवारका कुनै सदस्यको आँखामा आँसु देखिएन र देखाइएन । कसैको गला अवरुद्ध भएको सुनिएन। राष्ट्रका नाममा सम्बोधन गरिरहेका ज्ञानेन्द्रको गलामा कम्पन, अनुहारमा भग्नावशेष, ग्लानि, कुन्ठा आदि झल्किएको थिएन।

जनताको नासो जनतामा ….. भनिरहँदा ज्ञानेन्द्र न बेहोस भए न त उनले मानसिक सन्तुलन गुमाए। सत्ताबाट लखेटिनुपर्दा उनी हतास पनि देखिएनन। सम्झनुस् त हजारौँ योग्य, क्रान्तिकारी, सक्षमहरूलाई पछि पारेर तपाईं मन्त्री हुनुभएको थियो । त्यो बेलाको विजयी मुस्कान आजसम्म सम्झन्छु तपाईको ।

माननीय रामकुमारी झाक्रीज्यू , 

तपाईभन्दा लाखौँ योग्य र त्यागी सत्ताबाहिर आफ्नो त्यो एकदिनको पर्खाइमा छन् । देश परिवर्तनका पक्षमा, रूपान्तरणका पक्षमा क्रान्ति गर्नेलाई भावुक हुने अधिकार छ ? ढंगले एउटा विषयमा सही तरिकाले काम गर्न नजान्ने, बोल्न नजान्ने तपाईं सहरी विकासमन्त्री हुनु मात्र संयोग थियो ।

योग्यता, क्षमता र राजनीतिक योगदानमा तात्विक भिन्नता छन् । फरक कुरा हुन् । अँ, तपाईं किन रुनुभयो ? किन अवरुद्ध भयो तपाईको गला ? कि राजतन्त्रलाई सम्झनुभयो ? कि पुरानो पार्टी एमालेलाई सम्झनुभयो ? कि आफ्नै नजरबाट झरेको महसुस भयो र झार्नुभयो आँसुलाई पश्चातापले ?

राज्यको सर्वांगीण विकास र समग्र रूपन्तरणका लागि जीवन उत्सर्ग गर्ने योद्धा, क्रान्तिकारी वा त्यागीलाई दुख्यो त्यसैले रोएँ भन्ने अधिकार हुन्न नत्र, गुमाएका सबैको भर्पाइ दिन तयार हुनुहोस् ।

-दुर्गाप्रसाद खनाल