वैदेशिक रोजगारीको निम्ति साउदी अरबमा पुगेका नेपालका ४४ युवा अलपत्र।

[ शुभाकर विश्वकर्मा ]

साउदी अरेबिया:= वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका ४४ जना नेपाली श्रमिक अलपत्र परेका छन् । जसमा चार जना बाँकेका रहेका छन् । तीन महिनाअघि काठमाडौंको सिनामंगलस्थित अल हरमन एचआर कम्पनीबाट साउदी  पुगेका उनीहरू अलपत्र परेका हुन् । तीन महिना भइसक्दा पनि उनीहरूले काम पाएका छैनन् भने खानेबस्ने उपयुक्त व्यवस्था पनि नभएको उनीहरूले बताएपछि उक्त घटना बाहिर आएको हो ।

बाँकेको जानकी गाउँपालिका-१ का समी रजा राई, जानकी–१ कै अलमिन तेली, जानकी-३ का अल्ताब अली र नेपालगञ्ज-२१ का राम निवास पासीसहित विभिन्न जिल्लाका ४४ जना अहिले साउदीको जुबैल सहरको तामिमी क्याम्पमा अलपत्र अवस्थामा रहेको अलमिन तेलीले बताउनुभयो ।

बाँकेका चार जनालाई जानकी गाउँपालिका-३ का राम समझ पासी र डुडुवा गाउँपालिका-२ का सरिफ बेहनाले विदेश पठाइदिन्छौं भनि प्रतिव्यक्ति एक लाख ७० हजार रुपैयाँ लगेका पाइएको छ । उनीहरूले रकम बुझेर सिनामंगलस्थित अल हरमन एचआर कम्पनीबाट बाँकी प्रक्रिया पूरा गरेको पाइएको छ । अलमिनसँग २०७८ साल वैशाखमा गरिएको कामदार सम्झौतामा एचबिएआइ नाजो कम्पनीमा काम गर्ने भनिएको छ । तर गर्नुपर्ने काम प्रष्ट उल्लेख गरिएको छैन ।

पैसा बुझ्ने पासी र बेहनाले उनीहरूलाई बिस्कुट कम्पनीमा काम गर्ने भनेर भनेका अलमिन बताउनुहुन्छ ।  तर साउदी पुगेपछि उनीहरूले काम गर्ने भनिएको कम्पनी नै नभएको खुलेको छ । त्यसपछि उनीहरूले सडकमा मागेर खानुपर्ने अवस्थासम्म आइपरेको छ । उनीहरूलाई विमानस्थलबाट लगेर १० दिनसम्म बाहिर खाली ठाउँमै राखेको पाइएको छ ।

आफूहरूले रुखमुनि रात बिताएको अलमिन बताउनुहुन्छ ।  त्यसपछि उनीहरूले पठाउने कम्पनीमा निरन्तर गुनासो गरेपछि ४४ जनालाई मात्र चार कोठामा बस्ने व्यवस्था मिलाइयो । खाना र पानीको ठेगान थिएन । त्यसपछि उनीहरूलाई रियादबाट जुबेल पठाइयो । जुबेलमा पुगेपछि उनीहरूले थाहा पाए काम गर्ने भनेर आएको कम्पनी नै छैन ।

त्यति मात्रै होइन, उनीहरूलाई खानेबस्ने कुनै व्यवस्था नगरी फेरि सडकमै छाडियो । उनीहरूले केही दिन रमजानको बेला पाइएको दानबाट पेट पाले । सकडछेउको रुखमुनि रात काटे । त्यसबीच साउदी प्रहरीले उनीहरूलाई गाडीमा हालेर कम्पनी खोज्न सहयोग पनि ग¥यो । तर, कम्पनी नभेटिएपछि उनीहरूलाई पुनः सडकमै ल्याएर छोडिदियो ।

त्यसको दुई दिनपछि त्यहाँस्थित नेपाली दूतावासका कर्मचारी आएर कोठामा छोडिदिए । ती कर्मचारीसँग घर फिर्ता गरिदिनभन्दा उल्टै उनीहरूले ‘काम गर्न आएको कि घर फर्किन ?’ भन्दै धम्क्याएको अलमिन बताउनुहुन्छ । त्यसपछि उनीहरू बाध्य भएर काम पाइने दिनको पर्खाइमा कष्टपूर्ण दिन बिताइरहेका छन् । अलमिनले भन्नुभयो, ‘अहिलेसम्म खाना खान पनि पाएका छैनौं । उनीहरू ६ वटा कोठामा ४४ जना कोचिएर बसिरहेका छन् ।

पैसा असुल गर्नेहरूविरुद्ध उजुरी

यता, उहाँहरूबाट पैसा असुल गर्नेविरुद्ध परिवारले जिल्ला प्रशासन कार्यालय र श्रम कार्यालयमा उजुरी दिएका छन् ।  जिल्ला प्रशासन कार्यालयले दुई पक्षबीच १५ दिनभित्रका काम लगाइदिने र त्यतिन्जेल कामको टुंगो नलागे उहाँहरूलाई स्वदेश फिर्ता ल्याइदिने सहमति गराएको छ ।

पैसा बुझ्नेहरूले बिस्कुट कम्पनीमा काम लगाइदिने भने पनि अहिलेसम्म कम्पनीको टुंगो लागेको छैन । पठाउने म्यानपावर कम्पनीका सम्बन्धित व्यक्तिसमेत अहिले सम्पर्कबिहीन बनेका छन् । वैदेशिक रोजगार विभागको वेबसाइटमा उक्त कम्पनीको सञ्चालकमा मो. मुमताज रजा र सन्दिभा कार्की गरी दुई जनाको नाम उल्लेख छ । तर उनीहरूको सम्पर्क नम्बरमा भने फोन लाग्दैन ।