काठमाडौं := करोडपति युवकसंग विवाहको नाटक गरि ठगी गरेर विदेश पलायन भएकी एक महिला पक्राउ परेकी छिन् । सिन्धुपाल्चोक पिपलडाँडा–८ स्थायी घई भई हाल काठमाडौं जिल्ला गोकणेश्वर–५ नयाँ वस्ती बस्ने भावना तामाङ पक्राउ परेकी हुन्।
ठगी आरोपमा जेठ ३० अर्थात गत सातानै उनलाई पक्राउ गरेर आवश्यक थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी भक्तपुरले जनाएको छ । भावनाले रौतहटको चपुर नगरपालिका वडा नं. २ फूलबारीका फुर्वा दोर्जे मोक्तान तामाङसँग विवाह गरेकी थिइन्।
आफ्नो विगत गलत बताएर विवाह गरेको र विवाहपछि सम्पति आफ्नो बनाएको आरोपमा उनका पति फुर्वा दोर्जे मोक्तान तामाङले उनी विरुद्ध उजूरी दिएका थिए। मोक्तानको उजुरीका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरले गोकर्णेश्वर बस्दै आएकी भावना तामाङलाई पक्राउ गरेको जनाएको हो।
झन्डै डेढ करोड नगद, गरगहना र ससुराको नाममा रहेको घर, जग्गासमेत आफ्नो नाममा गरेर जापान गई सम्पर्क विहीन भएकी भावनाको बारेमा पति मोक्तानले परराष्ट्र मन्त्रालय लगायत विभिन्न महिला संघसंस्थाहरुमा उजुरी गरे पछि भावना बाध्य भएर नेपाल फर्किएकी थिइन।
विवाहपछि फकाएर पैतृक र निजी सम्पति भावनाले आफ्नो नाममा पारेर टाढा हुन खोजेको फुर्वाको आरोप छ । सम्पति हत्याएर सम्बन्ध अन्त्य गर्न खोजेको र भावनाबाट आफु ठगिएको फुर्वाले आरोप लगाएको छ।
विवाहको नाटक गरेकी भावनाविरुद्ध ठगी मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अहिले घटनाको अनुसन्धान भइरहेको र प्रमाणित भएमा जरिवानासहित १० वर्षसम्म जेल सजाय हुन सक्ने कानुनी प्रावधान रहेको छ।




















