ओलीकै पालामा पठाइएको थियो अमेरिकालाई एसपीपीको सम्झौता पत्र, नेपाली सेनाको विज्ञप्ति गलत।

काठमाडौं:= अमेरिकी स्टेट पाटर्नरसिप प्रोग्राम (एसपीपी)मा सामेल हुने भन्दै नेपाली सेनाले २०७२ साल कात्तिक १० गते पठाएको पत्र सार्वजनिक भएको छ। प्रतिनिधिसभा बैठकमा एसपीपीका विषयमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रश्न उठाएपछि सांसदहरूबीच आरोप–प्रत्यारोप चलेको थियो ।

त्यसक्रममा एमाले सांसदले नेपाली कांग्रेसका तत्कालीन सभापति स्व. सुशील कोइरालाका पालामा सेनाले पत्र पठाएको आरोप लगाएका थिए । तर, पत्र सार्वजनिक भएसँगै केपी शर्मा ओली प्रधानमन्त्री बनिसकेपछि पत्र गएको खुलेको छ । तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेको पत्रमा चाँडै एसपीपीको सदस्य बन्न लागेकामा खुसी व्यक्त गरिएको छ।

यसैबीच, एसपीपीका विषयमा नेपाली सेनाले जारी गरेको विज्ञप्ति पनि गलत सावित भएको छ । सेनाले एसपीपीमा संलग्न हुनका लागि आफूले पत्राचार नगरेको र कहिल्यै नगर्ने पनि उल्लेख गरिएको थियो । तर, यही पत्रबाट उसले गरेको खण्डन गलत सावित भएको हो ।