थाइल्याण्डमा गाँजाको खेती र कारोबारलाई वैधानिकता प्राप्त।

एजेन्सी (बैंकक):= थाइल्याण्डले भाङ एवं गाँजाको कारोबारलाई वैधानिकता दिएको छ । अबदेखि थाइल्याण्डका जनताले घरैमा भाङ खेती गर्न र बिक्री वितरण गर्न पाउने भएका छन् । सरकारले गाँजालाई प्रतिबन्धित लागूऔषधको सूचीबाट हटाएपछि जनताले यो छुट पाएका हुन् ।

लागूऔषध सेवन, ओसारपसार वा बिक्रीवितरणलाई लिएर अत्यन्तै कडा कानुन रहेको मानिने दक्षिण पूर्वी एसियाली क्षेत्रमा यस्तो लचिलो निर्णय लिने थाइल्याण्ड पहिलो मुलुक हो।थाई जनस्वास्थ्य मन्त्रीले बिहीबारदेखि १० लाख गाँजाको बिरुवा वितरण गर्ने घोषणा गरेका छन् । योसँगै उनले थाइल्याण्ड अब गाँजाका लागि ‘वन्डरल्याण्ड’मा परिणत हुने धारणा सुनिएका थिए ।

केही थाई अभियान्ताहरूले बिहीबार बिहान विभिन्न क्याफेहरूबाट गाँजा किन्दै उत्सव मनाएका थिए । यद्यपि, थाइल्याण्डले चिकित्सा अथवा स्वास्थ्यको उद्देश्यका लागि मात्रै गाँजा खुला गरिएको हो । त्यसैले पनि हालका लागि गाँजाप्रेमी पर्यटकहरूले थाइल्याण्ड सावधानी अपनाउनुपर्ने आवश्यकता कायमै छ ।

चिकित्सा प्रयोगका लागि मात्र गाँजालाई खुला गरिएको थाइल्याण्ड सरकारले बताएको छ । सार्वजनिक रूपमा रमाइलोका लागि गाँजा सेवन अझै पनि गैरकानुनी मानिने बताइएको छ । यसो गरेको पाइएमा तीन महिनाको जेल सजाय तथा २५ हजार थाई भाट (करिब ९० हजार रुपैयाँ) जरिवाना हुनसक्ने भन्दै सरकारले चेतावनी दिएको छ ।

थाइल्याण्डमा अझै पनि गाँजाबाट निकालिने तेललगायतका ०.२ प्रतिशत भन्दा बढी टेट्राहाइड्रोक्यानाबिनोल (टीएचसी) भएका पदार्थमा भने बन्देज नै लगाइएको छ ।

गत महिना उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री अनुतिन चार्नभिराकुलले यो राज्य र जनताले गाँजा र भाङबाट कमाउने अवसर भएकोे फेसबुकमा लेख्नुभएको थियो । उहाँले भाङसहित पकाइएको कुखुराको मासुको परिकारको तस्वीर पनि अपलोड गर्नुभएको थियो । उहाँका अनुसार यस्तो परिकारमा टेट्राहाइड्रोक्यान्नाबिनोल (टीएचसी) को मात्रा शून्य दशमलव दुई प्रतिशत भन्दा कम हुनुपर्ने नियम पालना हुनुपर्नेछ । गाँजा र भाङमा पाइने रासायनिक यौगिक टीएचसीले प्रयोगकर्तालाई लठ्याउँछ ।

सन् २०१८ मै थाइल्याण्डले चिकित्सकीय प्रयोगका लागि गाँजा प्रयोगलाई वैधानिकता दिएको थियो । गाँजाको खेती भएको ठाउँमा कीरा लाग्दैन भन्ने गरिन्छ । यसको रेसाबाट महँगो कपडा बन्छ । यसबाट बनेको कपडाको प्रयोगले शरीरमा छालाको रोग न लाग्ने विश्वास गरिन्छ ।

यसमा एउटा लठ्याउनेबाहेक अन्य अवगुण नभएको पाइन्छ । यसको सही प्रयोगले शान्त भएर बस्ने, विभिन्न रोगहरू जस्तो अल्जाइमर्स, क्यान्सर, पेटका समस्या कम हुने तथ्यांकले बताएको छ । यसको गलत प्रयोगबाट रोकेर सही प्रयोग गरेमा फाइँदै फाइदा रहेको बताइन्छ ।