साउदी अरबले यसपालि हजका लागि आउने १० लाख तीर्थयात्रीलाई भब्य स्वागत गर्दै।

साउदी अरेबिया := साउदी अरबले यसपालि हजका लागि १० लाख तीर्थयात्रीलाई स्वागत गर्दै छ । साउदीले शनिबार कोरोनाभाइरस संक्रमणको महामारीपछि हज तीर्थयात्रीहरूको पहिलो समूहलाई स्वागत गरेको छ । यस्तै इण्डोनेसियाबाट आएको समूह मदिना शहरमा आइतबार अवतरण भएको छ ।

हजलाई इस्लामका पाँच खम्बामध्ये एक मानिन्छ । आफ्नो जीवनमा कम्तीमा एकपटक सम्भव हुने सबै मुसलमानले हज जाने प्रचलन छ । सामान्यतया विश्वको सबैभन्दा ठूलो धार्मिक जमघटमध्ये एक हजयात्रामा सन् २०१९ मा लगभग २ं५ लाख मानिसले भाग लिएका थिए ।

सन् २०२० मा कोभिड-१९ को महामारी सुरु भएपछि साउदी अधिकारीले नियन्त्रणको सीमा तोक्दै एक हजार तीर्थयात्रीलाई मात्र भाग लिन दिने घोषणा गरेका थिए । सन् २०२१ मा उक्त संख्यामा संशोधन गर्दै पूर्ण खोप लगाएका साउदी नागरिक तथा चिट्ठामार्फत छानिएका विदेशी गरी कुल ६० हजार हजमा सहभागी हुन पाउने व्यवस्था गरिएको थियो ।

यो वर्षको अप्रिल महिनामा साउदी अरबले जुलाईमा हुने यस हजमा देशभित्र र बाहिरबाट १० लाख मुसलमानलाई भाग लिन अनुमति दिने घोषणा गरेको थियो । हजमा इस्लामको सबैभन्दा पवित्र सहर मक्का र पश्चिमी साउदी अरबका आसपासका क्षेत्रहरूमा पाँच दिनभन्दा बढी धार्मिक संस्कार सम्पन्न गरिन्छन्। रासस/एएफपी