काठमाडौं:= स्थानीय तहको मिति नजिकिँदै गर्दा तालमेलका लागि नेपाली कांग्रेसको तत्कालिन केन्द्रीय कार्यसमितिको बैठकमा प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले निक्कै ‘नोकझोक’ देखाउनु पर्याे । उनी इतरका नेताहरु सत्तागठबन्धन भित्र तालमेलको विरुद्धमा थिए । शेखर कोइरालालगायतका नेताहरुले बैठकमा खुलेरै तालमेलका विरुद्धमा बोलेपछि देउवाले रिसाउँदै ‘एक्लै लडेर जितेर देखाउनु’ भन्ने धम्की पनि दिए ।
गठबन्धनलाई चिड्याए बलियो एमाले र माओवादी मिल्नसक्ने र कांग्रेसलाई पहिलेकै अवस्थामा पुर्याउन सक्ने आशंका तेर्साए । फलत: कांग्रेसकाे केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय तहको आवश्यकताका आधारमा सत्ताधारी दलसँग तालमेल गरेर निर्वाचनमा जाने निर्णय गर्याे । तालमेलकै कारण स्थानीय तहमा कांग्रेसले राम्रै स्थान हासिल पनि गर्याे । उनको त्यो अडानलाई बल मिल्यो । यति बेला देउवाका अालाेचकहरु ‘तई चुप मै चुप’ छन् ।
राजनीतिक रुपमा निक्कै चतुर खेलाडीका रुपमा परिचित देउवा बेलाबेला भने उनकाे झोकका कारण विवादित बन्ने गरेका छन् । उनले बेलाबखद देखाउँदै आएका नोकझोक मध्ये पछिल्ला दुई नोकझोकले भने उनी फाइदैमा छन् । केही महिना अघि सम्पन्न कांग्रेसको १०औँ महाधिवेशन ताका उनले आफ्नै खेमामा रहेका विमलेन्द्र निधि र विश्वप्रकाश शर्मालाई देखाएको नोकझोकले उनलाई सभापति दोहोरिन बल मिल्यो । सधैँ इतरमा रहेका रामचन्द्र पौडेल र प्रकाशमान सिंहलाई आफ्नो पक्षमा ल्याएर उनी बलिया बने । उनकाे त्याे तागत अझै केहीसमय रहने देखिएको छ ।
यसैगरी स्थानीय तहको विषयमा बसेको केन्द्रीय समितिको बैठकमा उनले देखाएको नोकझोकले कांग्रेसलाई बढी स्थानमा जित्दै ठूलो दल बन्ने मौका मिल्यो । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणामले गठबन्धन गरेर अघि बढ्दा कांग्रेस र माओवादीलाई आशा अनुरुपको पाइदा मिल्यो । तर, एकीकृत समाजवादीसहितका दलहरुलाई भने फाइदा पुगेन, यसका असन्तुुष्टका स्वरहरु सोही दलका नेताबाट सुनिँदै अाएको छ ।
यतिबेला देउवा पुन: अर्काे नोकझोक देखाउने मुडमा छन् । उनी कांग्रेसकै केही नेताकाे चाहना विपरित जतिसक्दाे चाँडाे संसदीय निर्वाचनकाे मिति ताेक्ने मुडमा छन् । उनालाई सत्ता गठबन्धनका अन्य दलले पनि साथ दिने भएका छन् ।
स्थानीय तहमा पाँच दलीय गठबन्धन बनाएर चुनावमा जाँदा सोचे अनुरुप सफलता हासिल गरेर हौसिएको कांग्रेस यतिबेला छिटो भन्दा छिटो संसदीय निर्वाचन गराउने पक्षमा छ । आफू शक्तिशाली र सरकारमै रहेका बेला प्रधानमन्त्री देउवा बाँकी दुई चुनाव गराउन हतारिएका छन् । कांग्रेसभित्रै एकाथरीले चुनाव फागुनसम्म गर्न सकिने विषय पनि उठाएका छन् । तर, प्रधानमन्त्री देउवा भने सके कार्तिकमा नभएपनि मंसिर पहिलो हप्तामा नै चुनाव गराउने पक्षमा छन् ।
प्रधानमन्त्री देउवालाई ‘रात रहे अग्राख’ भने झैं कतै ढिलो गरे वामहरुबीच एकता हुने पो होकी भन्ने एक खालको मनोविज्ञानले झस्क्याई रहेको छ । ‘अगुल्टोले हानेको कुकुर विजुली चम्किँदा तर्सिन्छ’ भने झैँ यतिबेला गत संसदीय निर्वाचनमा कांग्रेसले भोगेको पराजयलाई दोहोर्याएर अपजस लिने पक्षमा देउवा छैनन् । आफूलाई प्रधानमन्त्री बनाउन सबैभन्दा ठूलो आडभरोसा गरेका नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले वाम एकता तुरुन्तै संभव नदेख्दा नदेख्दै चाँडै चुनाव गराउन किन उनी यति हतारिँदै छन् भन्ने अर्को प्रश्न उब्जिएको छ ।
प्रतिनिधि र प्रदेश सभाको चुनावको मितिका विषयमा बहस भइरहेका बेला सरकारमा रहेको अर्को ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दम्भ गरे एमालेलाई झैं कांग्रेसलाई पनि ठोक्ने बताएपछि देउवा झनै त्रसित बनेका हुनुपर्छ । प्रचण्डले माओवादीले १२२ स्थानीय तह जितेर राजनीतिलाई प्रभावित पार्न सक्ने, देशलाई कता मोड्ने हो त्यतै मोड्नसक्ने तागतसहितको तेस्रो भएको बताइसकेका छन् । प्रचण्डमा अडान पनि कम रहेकाे र उनको उक्त अभिव्यक्ति अर्थपूर्ण रहेको राजनीतिका जानकारहरु बताउँछन् ।
यसैपनि स्थानीय चुनावको नतिजाबाट पुलकित बनेका प्रचण्डको बार्गेनिङ पावर बढेको छ । कांग्रेसले दम्भ देखाए ‘जस्तो सुक्कै कदम चाल्न सक्ने’ उनी आफैँ भन्दै आएका छन् ।यता एमालेका नेताहरूले माओवादी र नेकपा एसलाई मिलाएर वाम गठबन्धन बनाउने प्रयासमा रहेको भन्ने पनि समाचार बाहिरिन थालेका छन् । यस कुराले देउवा अझ चुनावको मिति तोक्न र गठबन्धन अझ बलियो पार्न लचक समेत देखिएका छन्।
देउवालाई कतै एमाले र माओवादी मिल्ने हुन् कि भन्ने त्रास त छदैछ त्यो भन्दा बढी उनमा फेरि प्रधानमन्त्रीमा दोहोरिने अभिलाषा कै कारण आगामी संसदीय निर्वाचन समयमै हुने राजनीतिक विश्लेषकहरुको बुझाइ छ । अहिले गठबन्धनबीच सम्बन्ध राम्रो छ । माओवादी पनि स्थानीय चुनावको परिणामलाई लिएर खुशी नै छ । थोरै चित्त दुखाएका नेकपा एस र जसपालाई मनाएर चुनावमा जाँदा कांग्रेस फेरि पहिलो दल बन्नेमा देउवा ढुक्क छन् ।




















