स्टार फुटबलर मेस्सी चम्किँदा अर्जेन्टिनालाई उपाधि।

एजेन्सी := दक्षिण अमेरिकन च्याम्पियन अर्जेन्टिना र युरोपियन च्याम्पियन इटालीबीचको भिडन्तमा अर्जेन्टिना विजयी भएको छ। फाइनलिसीमा नाम दिएको प्रतियोगिताको उपाधि जित्ने क्रममा अर्जेन्टिना ३-० ले विजयी भयो।

वेम्बले स्टेडियममा भएको खेलको २८ औँ मिनेटमा मेस्सीको पासमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा मेस्सीले डि मारियाका लागि अर्को गोलको अवसर सिर्जना गरे । दोस्रो हाफको अन्त्यमा पाउलो डिबालाले अर्को गोल थप्दै टोलीलाई सहज जीत दिलाए ।

दुई महादेशका च्याम्पियन टोलीबीच २९ वर्षपछि प्रतियोगिताको आयोजना गरिएको थियो । पछिल्लो पटक सन् १९९३ मा आयोजना गरिएको यो प्रतियोगितामा अर्जेन्टिनाले डेनमार्कलाई हराएको थियो । अर्जेन्टिना पछिल्ला ३२ खेलमा अपराजित रहेको छ । सन् २०१९ को जुन यता अर्जेन्टिनाले कुनै पनि खेल हारेको छैन ।