म्याड्रिड:= रियल म्याड्रिडको इतिहासमा करिम बेन्जेमा सर्वाधिक गोल गर्ने सूचीमा पूर्वस्टार क्रिस्टियानो रोनाल्डोलाई पछ्याइरहनुभएको छ । रियल म्याड्रिडले लेभान्तेलाई ६-० ले पराजित गर्दा एक गोल गर्दै उहाँले क्लबका लागि ३२३औँ गोल गर्नुभएको थियो । यो गोलसँगै उहाँ क्लब इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा पुग्नुभएको छ ।
अब बेन्जेमाभन्दा अघि क्रिस्टियानो रोनाल्डोमात्रै हुनुहुन्छ । रोनाल्डोले रियल म्याड्रिडका लागि खेल्दै ४५१ गोल गर्नुभएको छ । रियल म्याड्रिडका लागि ला लिगामा रोनाल्डोले ३१२, राउलले २२८ तथा बेन्जेमाले २१९ गोल गर्नुभएको छ ।
३४ वर्षीय बेन्जेमाले यस सिजनका सबै प्रतियोगितामा ४४ गोल गर्नुभएको छ । बेन्जेमाले समग्र सिनियर करिअरमा ४२५ गोल गर्नुभएको छ । उहाँले रियलका लागि ३२३, लियोनका लागि ६६ तथा फ्रान्सको जर्सीमा ३६ गोल गर्नुभएको छ । रियलका लागि उहाँले हालसम्म ६०३ खेल खेल्नुभएको छ । एजेन्सी ।




















