काठमाडौं:= नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान सीता रानामगरको उत्कृष्ट प्रदर्शनमा यूएईमा जारी फेयर ब्रेक इन्भिटेसनल क्रिकेटमा टोर्नाडोस वुमेन्सले जित हात पारेको छ। दुबईमा बिहीबार भएको खेलमा टोर्नाडोसले फाल्कोन्स वुमन्सलाई सात विकेटले हराएको हो ।
फाल्कोन्सले दिएको १३९ रनको लक्ष्य टोर्नाडोसले १९ ओभर तीन बलमा तीन विकेट गुमाएर पूरा ग¥यो । टोर्नाडोसको जितमा कप्तान सोफी डिभाइनले ५२ रनको अर्धशतकीय इनिङ खेल्नुभएको थियो ।
त्यस्तै स्टेर कालिसले ५० रन जोड्नुभयो । नेपालकी सीता रानामगर १८ रनमा अविजित रहनुभएको थियो। फाल्कोन्सका गुञ्जन शुक्लाले २ विकेट लिनुभयो ।
त्यसअघि पहिले ब्याटिङ गरेको फाल्कोन्सले २० ओभरमा चार विकेट गुमाएर १३८ रन जोडेको थियो । फाल्कोन्सका कप्तान सुजि बाटेसले अविजित ४१ रन जोड्दा डानीले ३२ रन थप्नुभयो। मारिको हिलले २१ तथा चमारीले २० रन बनाउनुभयो।
बलिङतर्फ सिताले तीन ओभरमा १९ रन खर्चिनुभयो । उहाँले एक विकेट समेत हात पार्नुभयो । यस जितसँगै टोर्नाडोसले पाँच खेलमा ११ अंक जोडेको छ । टोर्नाडोस तेस्रो स्थानमा रहेको छ ।




















