‘दबंग टुर रिलोडेड’ मा भाग लिनको लागि नेपाल आउन ज्याकलिनले माग्नुभयो अदालतसँग स्वीकृति।

एजेन्सी (मुम्बई):= बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले नेपाललगायत अन्य केही देशमा जान अदालतसँग स्वीकृति माग्नुभएको छ । उहाँले हालै दिल्ली अदालतमा नेपाल, आबुधावी र फ्रान्स यात्रामा जान अनुमतिका लागि दिल्ली अदालतमा निवेदन पेश गरेको नवभारत टाइम्सले जनाएको छ।

दुई सय करोडको मनी लन्ड्रिङ मुद्दामा फस्नु भएकी उहाँको गत सातामात्रै प्रवर्तन निर्देशालय (ईडी)ले उहाँको करिब सात करोड सम्पत्ति जफत गरेको थियो । यही, मुद्दाकै कारण इडीले उहाँविरुद्ध लुक आउट सर्कुलर जारी गरेको छ, जसअन्तर्गत उनलाई अहिले देश छोडेर जान प्रतिबन्ध लगाएको छ ।

यसै सम्बन्धमा उहाले दिल्ली अदालतमा निवेदन दिनुभएको हो । उहाँले नेपालमा यही जेठ १४ (मे २८) मा हुन लागेको ‘दबंग टुर रिलोडेड’मा सहभागी हुन, आबुधावीमा हुने आइफा अवार्डमा सहभागी हुन र फ्रान्स यात्रा गरी करिब १५ दिनको विदेश भ्रमणमा जान पाऊँ भन्दै निवेदन पेश गर्नुभएको हो ।

यही, प्रतिबन्धका कारण गत वर्ष दुबईमा भएको ‘दबंग टुर रिलोडेड’ मा पनि उहाँ जान पाउनुभएको थिएन । उहाँलाई मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलको सेक्युरिटीले रोकेर फिर्ता पठाएको थियो । सोही दिनदेखि उहाँलाई मुम्बई छोडेर जान रोक लगाइएको छ ।

स्रोतका अनुसार अदालतबाट यसबारेको निर्णय २० तारिखमा सुनाउनेछ । त्यही निर्णयको आधारमा उहाँ नेपाल आउने नआउने पक्का हुन्छ । एजेन्सी ।