नेपालले जित्यो एकदिवसीय क्रिकेट शृंखला।

काठमाडौं:= जिम्बाबेको ‘ए’ टोलीविरुद्धको एकदिवसीय क्रिकेट शृंखला नेपालले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको तेस्रो तथा निर्णायक एकदिवसीय खेलमा जित हात पार्दै नेपालले शृंखला दुई÷एकले आफ्नो पक्षमा पारेको हो ।

नेपालले जिम्बाबे ‘ए’ लाई ६ विकेटले पराजित गरेको थियो । जितका लागि २१४ रनको लक्ष्य पछ्याएको नेपालले ३१ औँ ओभरमा लक्ष्य हासिल गरेको थियो । वर्षाका कारण ३३ ओभरमा छोट्याइएको खेलमा नेपालका लागि ओपनर कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेल्नुभएपछि जित सम्भव भएको थियो ।

कुशलले ६१ बलमा सात चौका र चार छक्कासहित ८४ रनसहित सानदार पारी खेल्नुभयो । यस्तै अर्का ओपनर आसिफ शेखले ३७ बलमा २९ रन जोड्नुभएको थियो । सुनिल धमलाले ६ रनमात्रै बनाउन सक्नुभयो । त्यसपछि दीपेन्द्र र विनोद भण्डारीले नेपाललाई अघि बढाउनुभयो ।

दीपेन्द्रले ४३ बलमा ६० रन जोड्नुभयो । उहाँले चार चौका र तीन छक्का प्रहार गर्नुभयो । २६ बलमा २८ रन जोड्नुभएका विनोदसमेत नटआउट रहनुभयो । गए राती परेको वर्षाका कारण तोकिएको समयमा मैदान खेल्नयोग्य नहुँदा खेल ३३ ओभरमा घटाइएको थियो । नेपालले टस जितेर जिम्बाबेलाई पहिलो ब्याटिङ गर्न निम्तो दिएको थियो ।

जिम्बाबेले ३२ दशमलब एक ओभरमा सबै विकेट गुमाउँदै २१३ रनको योगफल बनायो । जिम्बाबेका लागि टाडीवानाशे मारुमानीले सर्वाधिक ५० रनको योगदान दिनुभयो। यस्तै कुड्जाई मौन्जेले ३९, रोय कियाले ३६, कप्तान टोनी मुन्योगाले २४, सेफासले १६, इनोसेन्ट कियाले १२ तथा लुक जोग्वीले १९ रन जोड्नुभयो ।

बलिङतर्फ नेपालका किशोर महतो एक्लैले पाँच विकेट लिनुभयो भने सोमपाल कामीले दुई विकेट झार्नुभयो । त्यस्तै करण केसी र दीपेन्द्रसिंह ऐरीले समान एक/एक विकेट हात पार्नुभएको थियो । प्रतियोगितामा नेपालका करण केसी प्लेयर्स अफ दि सिरिज घोषित हुनुभयो ।

जिम्बावेको कुनै पनि टोली नेपालमा आएर पहिलो पटक खेलेको हो । टोनी मुनिओगांको कप्तानीमा रहेको जिम्बावे ‘ए’ को प्रशिक्षकमा पूर्व टेस्ट खेलाडी डगलस होन्डो रहनुभएको छ ।