क्वालालम्पुर (मलेसिया):= नेपालले मलेसियामा सुरक्षागार्ड लगायतको क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरुको न्यूनतम् पारिश्रमिक ( तलब ) वृद्धि गर्न प्रस्ताव गरेको छ।
मलेसिया भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियाका गृहमन्त्री हमजाह वीन जैनुदिनसँगको भेटका क्रममा मलेसियामा कार्यरत नेपाली सुरक्षा गार्डसहितको अन्य श्रमिकको पारिश्रमिक, सेवा तथा सुविधा वृद्धि गर्न प्रस्ताव गरेका हुन्।
श्रेष्ठले नेपाली सुरक्षागार्डको मासिक तलब आरएम ३ हजार मलेसियन रिंगेट हुनुपर्ने प्रस्ताव गरेका छन्। नेपाली कामदार मेहनति र इमान्दार हुने चर्चा गर्दै गृहमन्त्री जैनुदिनले गोर्खा गार्ड्सका रूपमा मलेसियामा नेपालीहरूको राम्रो प्रभाव रहेको बताएका थिए।
सो क्रममा उनीहरुबीच नेपालमा सुरक्षा गार्डसम्बन्धी तालिमको व्यवस्था गरी नेपाली युवालाई सीपयुक्त बनाई थप रोजगारीका अवसर प्रदान गर्ने, शून्य लागतको सिद्धान्तलाई प्रभावकारी बनाउने, स्वास्थ्य, सामाजिक सुरक्षा, चौबिस घण्टे बीमा सुविधाको व्यवस्थाबारे छलफल भएको श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिनुभयो।
नेपालमा सुरक्षा गार्ड सम्वन्धि तालिमको व्यवस्था गरी सीपयुक्त बनाउनेबारे समेत उनीहरुबीच छलफल भएको थियो। नेपालबाट सुरक्षागार्डमा जानेहरूमा पूर्वसेना वा पूर्वप्रहरीका साथै आधारभूत तालिम लिएका युवाहरु छन्।
पूर्वगोर्खा ब्रिटिश सैनिकको प्रभावका कारण मलेसियामा गोर्खा गार्ड्सका रूपमा नेपालीप्रति उच्च सद्भाव रहेकोले समयानुकुल तालिम दिएर व्यावसायिक विकास गर्नेतर्फ ध्यान दिनुपर्ने भेटवार्तामा सहभागि मन्त्रालयका सचिव एकनारायण अर्यालले बताउनुभयो।
छलफलमा भएका विषयलाई औपचारिकता दिन छिट्टै द्विपक्षीय समझदारी हुनेछ। भेटवार्तामा कार्यवाहक राजदूत मोतिबहादुर श्रीस र दूतावासका अन्य पदाधिकारीहरु,कर्मचारी पनि सहभागि थिए। यसअघि मन्त्री श्रेष्ठले मलेसियाका समकक्षी सेरी एम सराभननसँग गरेको द्विपक्षीय बैठकमा श्रम सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्ने सहमति भएको थियो।
मन्त्री श्रेष्ठको नेतृत्वमा भएको उच्चस्तरीय टोलीले मलेसियास्थित सामाजिक सुरक्षा संस्था (सोस्को) समेत भ्रमण गरेको थियो। साथै नेपाल र मलेसियाबीच संयूक्त कार्यदलको तेस्रो बैठक छिटै काठमाडौंमा गर्ने सहमति पनि भएको छ।




















