सेयर बजार फेरि ओरालोतर्फ।

काठमाडौं:= सेयर बजार फेरि ओरालो लागेको छ । आइतबार उच्च अंकले बढेको सेयर बजार सोमबार ३४.९५ अंक घटेर २३८६.०१ अंकमा झरेको छ । त्यस्तैै ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ६.१९ अंकले घटेर ४५४.६९ अंकमा झरेको छ । नेप्से घटेसँगै कारोबार रकम पनि घटेर दुई अर्ब चार करोडमा झरेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४९ करोडले घटेको हो ।

सोमबार दुई सय ३९ कम्पनीको दुई अर्ब चार करोड २२ लाख ५३ हजार एक सय ८२ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । यस दिन ५० लाख ४७ हजार सात सय ६९ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

कारोबार भएका कुल १३ समूहमध्ये होटल र म्युचुअल फन्डबाहेक ११ वटै समूहगत सूचक घटेका छन् । सबैभन्दा धेरै अन्य समूह २.२६ प्रतिशतले घटेको छ भने विकास बंैक दुुई प्रतिशतभन्दा बढीले घटेको छ । बैंकिङ, जलविद्युत्, फाइनान्स, निर्जीवन बिमा, लघुवित्त, जीवन बिमा र लगानी सूचक पनि एक प्रतिशतभन्दा धेरैले घटेको छ ।

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आठ करोड ११ लाख ९१ हजार आठ सय २४ रुपैयाँको सेयर कारोबार भएको छ भने शिवम सिमेन्ट्स र हिमालयन डिस्टिलरीको छ करोड, अपी पावर, एनआइसी एसिया बैंक र नबिल बैंकको पाँच करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९.९९ प्रतिशत र राष्ट्रिय बिमा कम्पनी संस्थापक र सानिमा इक्विटी फन्डको पाँच प्रतिशतले बढेको छ । एभरेस्ट इन्स्योरेन्स कम्पनी प्रोमोटरको सेयरमूल्य सर्वाधिक ७.७० प्रतिशतले घटेको छ भने सेन्ट्रल फाइनान्सको ५.३३ प्रतिशत, रसुवागढी हाइड्रोपावर, न्यादी हाइड्रोपावर, सामलिङ पावर, हिमालयन ऊर्जा विकास कम्पनी र गोर्खाज फाइनान्सको सेयरमूल्य पनि चार प्रतिशतभन्दा बढीले घटेको नेप्सेले जनाएको छ ।