आज नेपालबाट जेनेभा फर्किंदै डब्ल्युएचओका महानिर्देशक डा. टेड्रोसको टोली।

काठमाडौं:= विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज (शनिबार) नेपालबाट फर्किनुहुने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा तीनदिने भ्रमणमा नेपाल आउनुभएका डा. टेड्रोस आज फर्किन लाग्नुभएको हो । उहाँ बिहीबार नेपाल आउनुभएको थियो ।

नेपालमा रहँदा उहाँले उच्चस्तरीय शिष्टाचार भेटवार्ता गर्नुका साथै खोप केन्द्रको अवलोकनसमेत गर्नुभयो । महानिर्देशकका साथ डब्ल्युएचओको दक्षिणपूर्व एसिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीसमेत नेपाल आउनुभएको हो ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट

डब्ल्युएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बिहान महानिर्देशक डा. टेड्रोसले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियोे ।

राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार टीका ढकालका अनुसार भेटमा राष्ट्रपति भण्डारीले कोरोना भाइरस (कोभिड–१९)को महामारीमा सबै देशलाई समान तरिकाले डब्ल्युएचओले खोप वितरण गरेकामा महानिर्देशक डा. टेड्रोसलाई धन्यवाद ज्ञापन गर्नुभयो । महानिर्देशक डा. टेड्रोसले नेपालले कोरोना भाइरसविरुद्धको खोप धेरैजसोलाई लगाएकामा कृतज्ञता व्यक्त गर्नुभयो।

महानिर्देशक डा टेड्रोसले नेपालको स्वास्थ्य नीतिका बारेमा चासो राख्नुभएको थियो । त्यस्तै, शुक्रबार नै उहाँले प्रधानमन्त्री देउवासँग पनि शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । प्रधानमन्त्री देउवासँगको भेटका क्रममा उहाँले नेपालले कोरोना महामारीविरुद्धको खोप अभियान प्रभावकारी रूपमा व्यवस्थापन गरेकामा नेपाल सरकारको प्रशंसा गर्नुभयो ।

भेटका क्रममा कोभिड नियन्त्रण तथा रोकथाममा नेपाल सरकारको रणनीति प्रभावकारी भएको डा. टेड्रोसले बताउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो । उहाँका अनुसार त्यस अवसरमा डा. टेड्रोसले नेपालले दक्षिण एशियामै टाइफाइडविरुद्ध बालबालिकालाई खोप सुरु गरेकामा पनि नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

नेपालले छोटो समयमै बाल तथा मातृमृत्यु कम गरेको लगायतका विभिन्न स्वास्थ्य सूचकहरूमा गरेको प्रगतिको पनि उहाँले प्रशंसा गर्नुभयो । बालुवाटारमा भएको शिष्टाचार भेटमा प्रधानमन्त्री देउवाले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने गरी सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी गराउनुभएको थियो ।

साथै कोभिड नियन्त्रणलगायत स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनको सहयोगका लागि पनि प्रधानमन्त्रीले विश्व स्वास्थ्य संगठनलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री देउवाले नेपाली स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, स्वास्थ्यका क्षेत्रमा बहुपक्षीय साझेदारीलगायत विषयमा सहकार्य गर्न नेपाल सरकार तयार रहेको धारणा पनि भेटमा राख्नुभएको थियो । महानिर्देशक डा. टेड्रोसले बिहीबार नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नुभएको थियो ।

खोप केन्द्रको अवलोकन

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले ललितपुरको पाटन माध्यमिक विद्यालयस्थित खोप केन्द्रको अवलोकन गर्नुभएको छ । शुक्रबार महानिर्देशक डा. टेड्रोसले पाटन माध्यमिक विद्यालयस्थित खोप केन्द्रको अवलोकन गर्नुभएको हो ।

खोप केन्द्र अवलोकनका क्रममा महानिर्देशन डा. टेड्रोसले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनसँग पनि भेट गर्नुभएको थियो । भेटपछि मेयर महर्जनले महानिर्देशक डा. टेड्रोसले नेपालले कोभिड-१९ विरुद्ध सफलता पाएको र सोही कामको अवलोकन गर्नुभएको बताउनुभयो ।

मेयर महर्जनले भेटका क्रममा महानिर्देशक गेब्रेयससले आगामी दिनमा नेपालको जनस्वास्थ्यको क्षेत्रमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको जानकारी दिनुभयो । खोप केन्द्रबाट अहिले १५ महिनाभन्दा माथिका र १५ वर्षभन्दा कम उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप सञ्चालन भइरहेको छ ।

गत चैत २५ गतेबाट सरकारले देशभरका विभिन्न विद्यालयका खोप केन्द्र स्थापना गरी टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ । यो अभियान वैशाख १८ गतेसम्म सञ्चालन हुनेछ । त्यस्तै, सरकारले खोप केन्द्रहरूबाट टाइफाइडविरुद्धको खोप र कोरोनाविरुद्धको खोप पनि सञ्चालन गरिरहेको जनाएको छ ।