म फिल्मी क्षेत्रमा स्टार बन्न आएको होइन : नायक कर्मा।

काठमाडौं:= नेपाली चलचित्र क्षेत्रका नायक कर्माले आफू यस क्षेत्रमा स्टार बन्न नआएको बताउनुभएको छ । यही वैशाख २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ नेपाली चलचित्र ‘षट्कोण’ को प्रेस मिटमा कर्माले आफू स्टार बन्ने दौडधुपमा नरहेको जानकारी दिनुभएको हो । उक्त चलचित्रमा कर्मा मुख्य अभिनेताका रूपमा हुनुहुन्छ ।

कर्माले स्टारको दौडधुपमा नरहेका कारण पनि आफ्नो रोजाइमा फरक किसिमका चलचित्र पर्दै आएको जानकारी दिनुभयो । यस्तै, अभिनेता कर्माले आफ्नो नामको अर्थ स्टार अर्थात् तारा भए पनि म तारा बन्नका लागि सिनेमा क्षेत्रमा नआएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मलाई तारा बन्नु पनि छैन । स्टार भनेको चम्किरहने हो । मैले नाम त रोजेँ त्यो बेग्लै कुरा हो । मलाई कलाकारिता गर्नु छ विशुद्ध भुइँमा बसेर । तर, स्टार बन्ने मेरो इच्छा छैन ।’ प्रेस मिटमा चलचित्रका मुख्य कलाकार कर्मा, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, निर्देशक मिलन डि काप्री र निर्माता तथा अभिनेता विराज कडरियाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै निर्देशक मिलनले षट्कोण युवाहरूको टिमले बनाएको साइकोलोजिकल थ्रिलर सिनेमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले नेपालमा बन्ने अन्य सिनेमाभन्दा केही फरक बनाउने कोसिस गरेका छौँ । मेरो सिनेमामा हिरोहिरोइनको फाइट र नाचगान छैन तर कथा सुहाउँदो गीतचाहिँ राखेको छु ।’

त्यसैले हामीले नेपालमा केही फरक सिनेमा निर्माण गर्ने प्रयास गरेकाले सबैको साथको खाँचो रहेको उहाँले उल्लेख गर्नुभयो । शिशिर लिम्बूको कथा तथा पटकथा रहेको सिनेमाको संवाद महेश दवाडीले लेख्नुभएको हो । सिनेमामा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डी काप्रीको सम्पादन रहेको छ ।