जिम्बाबे ‘ए’ सँगको शृंखलाका लागि नेपाली टोली घोषणा।

काठमाडौं:= जिम्बाबे ‘ए टोलीसँगको क्रिकेट शृंखलाका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार नेपालको २३ सदस्यीय टोली घोषणा गरेको हो । जसमा बशिर अहमदलाई पहिलो पटक टोलीमा समेटिएको छ । उहाँ बायाँ हाते अलराउण्डर हुनुहुन्छ ।

अघिल्लो साता रूपेन्देहीमा सम्पन्न प्रो क्लब च्याम्पियनसिप क्रिकेटमा उहाँ सवोत्कृष्ट खेलाडी चुनिनुभएको थियो । उहाँको उत्कृष्ट प्रदर्शन मद्दतमा रूपन्देही–११ ले उपाधि जितेको थियो।

त्यसबाहेक नेपाली टोलीमा सुनिल धमला, किशोर महतो र विनोद भण्डारीले पुनरागमन गर्नुभएको छ । नेपाली टोलीमा सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, आदिल अन्सारी, भीम सार्की, सुशान भारी, पवन सरार्फ, अभिनाश बोहरा, बशिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम र सुनिल धमला रहनुभएको छ ।

नेपालले जिम्बावे ‘ए’ सँग पहिलो एकदिवसीय खेल वैशाख १७ (अप्रिल ३०) मा पहिलो खेल खेल्नेछ । दोस्रो खेल वैशाख १९ र तेस्रो खेल २१ वैशाखमा हुनेछ । त्यसपछि टी २० खेलहरू सुरु हुनेछन् । वैशाख २३, २४ र २६ मा तीनवटा टी २० खेल हुने तालिका छ । जिम्बावे क्रिकेट बोर्डले पनि नेपालसँग खेल्ने शृंखलाका लागि आफ्नो टोली घोषणा गरिसकेको छ । जिम्बाबे एमा १५ सदस्यी टोली छ । त्यसमा आठजना जिम्बावेबाट खेलिसक्नुभएका खेलाडी हुनुहुन्छ ।

टोलीमा रहेका २७ वर्षीय ल्यूक जोंगवेले गत वर्ष पाकिस्तानविरुद्धको टी २० को एक खेल जिताउँन ३.५ ओभरमा १८ रनमात्रै खर्चेर ३ विकेट लिनुभएको थियो । उहाँबाट रयान बर्ल, मधर्वे विस्ली, सिकन्दर राजा, तिरिपानो डोनाल्ड जिम्बावे ए को टोलीमा हुनुहुन्छ । बलर ब्लेसिङ मुर्जाबानी भने इण्डियन बिप्रमियर लिग (आइपिएल) को लागि लखनऊ सुपर जायन्ट्समा हुनुुहुन्छ ।

जिम्बावे ‘ए’ को टोलीमा क्याम्पबेल जोनाथन, इभान्स ब्राडली, ग्वान्डु ट्रेभर, ल्यूक जोंगवे, काइया इनोसेन्ट, काइया रोय, मडान्डे क्लाइभ, मारुमणि तादिवानाशे, मसारा जोन, मौन्जे कुडजाई, माभुता ब्रेन्डन, मुन्योंगा टोनी, मुतोम्बोड्जी टिनोटेन्डा, न्याउची भिक्टर र त्सिग्वागा तफाडजवा हुनुहुन्छ ।

नेपालले विश्व क्रिकेट लिग २ अन्तर्गत अमेरिका र ओमानविरुद्धको शृंखलाको तयारीस्वरूप लिग खेल्न लागेको हो । शृंखलालगत्तै नेपाल लिग २ का खेलहरू खेल्न प्रस्थान गर्नेछ ।