काठमाडौं:= माग्ने बुढाको उपनामले चर्चित हास्य कलाकार केदारप्रसाद घिमिरेले नयाँ कमेडी शो ल्याउने हुनुभएको छ । ‘कमेडी हब’ नामक शो यही वैशाख अन्तिमदेखि एपीवान टेलिभिजनबाट शो प्रसारण हुने जनाइएको छ ।
मंगलबार शोको आधिकारिक पोष्टर सार्वजनिक गर्दै यस विषयमा जानकारी दिइएको छ । शोमा माग्ने बुढासहित कमेडी च्याम्पियन सिजन–१ का विजेता हिमेश पन्त, कमेडियनहरू राजा राजेन्द्र, खड्गबहादुर पुनमगर (खबपु) र सुवोध गौतमले कमेडी कला प्रस्तुत गर्ने हुनुभएको छ ।
शोमा कमेडीका ६ शैली प्योर, हृयुमर, रोमान्टिक, स्ट्यान्ड अप, सटायरिक र प्यारोडी प्रस्तुत गरिने पोष्टरमा उल्लेख छ । वैशाख अन्त्यदेखि प्रसारण लक्ष्य राखिएको शोका दुई भागको छायांकन सकिएको छ ।
६ महिनासम्म प्रसारण हुने योजना अनुसार एसिपोड छायांकन सुरु भएको र तीन सिजनसम्म सञ्चालन गर्ने लक्ष्य छ । शोका कन्टेन्ट निर्देशन माग्ने बुढा र प्राविधिक निर्देशन चाहिँ जनकदीप पराजुलीले गरिरहनुभएको छ ।




















