भारतीय एजेन्सी := केही दिनअघि दक्षिण भारतीय सिनेमा पुष्पाः द राइजले मान्छेका चप्पल मात्र खुस्काइदिएन, कुम बाङ्गो पारेर नाच्ने बनाइदियो । फिल्मका गीत र डायलगहरूले मानिसहरूको मन र मस्तिष्कमा यस्तो जादु गर्याे, जोकोही फिल्मको गीत र डाइलगहरूमा रील्स बनाइरहेका छन् । अनि सोसल मिडियामा शेयर गरेर भ्युज बटुलिरहेका छन् ।
‘तेरी झलक असर्फी’ बोलको गीतमा अल्लु अर्जुन नाच्दा चप्पल खुस्केर फेरि लाएको सिनमा धेरैले टिकटक बनाए । यति मात्र होइन, ‘पुष्पा नाम सुनके फ्लावर समझा क्या, फायर हें मैं’ भन्ने डाइलगमा बच्चादेखि ज्येष्ठ नागरिकसम्मले कुम बंग्याए ।
यहाँसम्म त ठीकै थियाे । हुँदाहुँदा १० कक्षामा पढ्ने एक बालकले बाेर्ड परीक्षाकाे उत्तर पुस्तिकामै पुष्पा फिल्मकाे डाइलग लेखेर घर फर्केका छन् । केही दिनअघिकाे याे घटना भारत पश्चिम बंगालकाे हाे । ती बालकले बुझाएकाे उत्तर पुस्तिका यति बेला साेसल मिडियामा भाइरल बनेकाे छ । भाइरल बनेकाे तस्वीरमा देखिएअनुसार विद्यार्थीले आफ्नाे उत्तर पुस्तिकामा लेखेका छन्, ”पुष्पा, पुष्पराज… अपुन लिखेगा नहीं ।’
फिल्मको वास्तविक डाइलग ‘पुष्पा, पुष्पा राज, मैं झुकेगा नहीं’ हाे । तर बालकले यसलाई आफ्नै तरिकाले शंशोधन गरी उत्तर पुस्तिकामा लेखिदिएका छन् । ती बालकले पूरै उत्तर पुस्तिकामा याे डाइलगबाहेक अरू केही लेखेका थिएनन् ।
विद्यार्थीमा परेकाे फिल्मकाे यसखाले प्रभावलाई लिएर शिक्षक र अभिभावले चिन्ता जनाएका छन् । अर्कातिर यही आन्सर सिटकाे मानिसहरूले भरपुर मजा लिइरहेका छन् । अनि सामाजिक सञ्जालमा मजाकका रूपमा शेयर गरिरहेका छन् ।




















