बाबुरामको अर्थशास्त्रः उम्मेद्धार आफैले चुनावी खर्च गर्दा भ्रष्टाचार बढ्यो, अब राज्यले खर्च गरौँ।

काठमाडौं := जसपा अध्यक्ष एवंम पूर्व प्रधानमन्त्री र अर्थमन्त्री भईसकेका डा. बाबुराम भट्टराईले चुनावमा उम्मेद्धार आफैले खर्च गर्दा जनप्रतिनिधि त्यही खर्च उठाउन राज्यको स्रोत दोहन गरेर भ्रष्ट भएको भन्दै त्यस्तो खर्च राज्यले गर्न प्रस्ताव गरेका छन्।

ट्वीटरमा लेख्दै भट्टराईले भ्रष्टाचारको मुहान यही नै भएकाले तीनै तहको कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचन मार्फत गर्ने र विधायिका पूर्ण समानुपातिक विधिबाट गर्नु पर्ने र यी निर्वाचनको खर्च सबै राज्यले ब्यहोर्नु पर्ने प्रस्ताव गरेका छन्।

डा. भट्टराईले भनेका छन्, ‘चुनावी खर्चबारे पानीमाथि ओभानो कोही नबनौं। पैसा खर्चेर चुनाव जित्ने र त्यो खर्च असुल्न राज्यको दोहन गर्ने प्रवृत्ति नै देशमा भ्रष्टाचारको मुहान हो भन्ने कटुसत्य स्वीकारेर यसो गरौं : १. तीनै तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक विधायिका, २. चुनावी खर्च राज्यले बेहोर्ने।’ यही वैशाख ३० गते देशभर एकसाथ स्थानीय तहको निर्वाचन हुँदै छ।