इटालियन सिरी ‘ए’ फुटबल: एसी मिलानको बराबरी।

मिलान:= इटालियन सिरी ‘ए’ फुटबलको शीर्षस्थानमा रहेको एसी मिलान सोमबार राती भएको खेलमा घरेलु मैदानमा बोलोग्नासँग गोलरहित बराबरीमा रोकिएको हो । पाहुना टोलीमाथि बल पकडमा हाबी देखिए पनि मिलानले गोल भने निकाल्न सकेन ।

यो बरारबीसँगै शीर्षस्थानमा रहेको मिलानले एक अंकको अग्रता लिन सफल भएको छ । मिलानको ३१ खेलबाट ६७ अंक छ । समान खेलबाटै दोस्रो स्थानको नेपोलीको ६६ तथा एक खेल कम खेलेको इन्टर मिलानको ६३ अंक छ । मिलानलाई रोकेको बोलोग्ना ३० खेलबाट ३४ अंक जोडेर १२औँ स्थानमा रहेको छ ।

यता, प्रिमियर लिगमा आर्सनलले क्रिस्टल प्यालेससँग ३-० को हार बेहोरेको छ । आर्सनलको लज्जास्पद हारमा जिन फिलिपे मटेटा, जोर्डन एयु र वेलफ्रेड जाहाले गोल गर्नुभयो । खेलको १६औँ मिनेटमा जिन फिलिपे मटेटाले गोल गर्दै घरेलु टोली क्रिस्टललाई १-० को अग्रता दिलाउनुभयो । उहाँले जोआचिम एन्डरसनको पासमा गोल गर्न सफल हुनुभएको थियो । २४औँ मिनेटमा जोआचिम एन्डरसनकै पासमा जोर्डन एयुले गोल गर्दै क्रिस्टल प्यालेसको अग्रता दोब्बर पार्नुभएको थियो ।

७४औँ मिनेटमा वेलफ्रेड जाहाले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीको जित पक्का गर्नुभएको थियो । यो जितसँगै क्रिस्टल प्यालेस ३० खेलबाट ३७ अंक जोडेर नवौँ स्थानमा उक्लिएको छ । पराजित आर्सनलले चौथो स्थानमा उक्लने मौका गुमाउँदा पाँचौँ स्थानमा यथावत् रहेको छ । समान ५४ अंक रहे पनि एक खेल बढी खेलेको टोटनहम गोल अन्तरमा अघि छ ।