एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्डः वर्ष खेलाडीको मनोनयन सार्वजनिक,नगद पुरस्कारको ब्यवस्था।

धनगढी:= ‘एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७८’ को वर्ष खेलाडीको मनोनयन सार्वजनिक भएको छ । सुदूरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजन रहेको एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्डको वर्ष पुरुष खेलाडी र वर्ष महिला खेलाडीको मनोनयन सार्वजनिक गरिएको हो ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा हुने अवार्डको वर्ष पुरुष खेलाडीको मनोनयनमा ब्याडमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका दिपेन्द्र सिंह ऐरी र फुटबलका टेकेन्द्र थापा पर्नुभएको छ । त्यस्तै महिलातर्फ भलिबलकी सरस्वती चौधरी एथलेटिक्सकी राजपुरा पछाई र फुटबलकी उषा नाथ पर्नुभएको छ ।

पुरुषतर्फ मनोनयनमा पर्नुभएका प्रिन्स जुनियरतर्फको विश्व वरीयतामा एक नम्बरमा रहनुभएको छ । दीपेन्द्र अन्तर्राष्ट्रिय क्रिकेटमा शतक र अर्धशतकसहित टी ट्वान्टीमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी हुनुहुन्छ । नेपाली पुरुष फुटबलको टिममा पर्नुभएका टिकेन्द्र थापाले पहिलोपटक नेपालका लागि अन्तर्राष्ट्रिय डेब्यु गर्नुभएको छ । उहाँले जावलाखेल युथ क्लबबाट ‘ए’ डिभिजन लिग खेल्दै आउनुभएको छ ।

महिलातर्फ मनोनयनमा पर्नुभएकी सरस्वतीले नेपाली महिला भलिबल टोलीले बंगलादेशमा सेन्ट्रल जोन भलिबलमा स्वर्ण जित्दा उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो भने घरेलु प्रतियोगिताहरूमा सानदार प्रदर्शन गर्दै आउनुभएको छ । उषा उमेर समूह हुँदै नेपाली महिला फुटबल टोलीमा स्थान बनाउन सफल हुनुभएको छ ।

उहाँ राष्ट्रिय महिला लिगको उत्कृष्ट गोलरक्षक बन्नुभएको थियो । एथलेटिक्सकी राजपुराले भारतको नागाल्यान्डमा भएको साफ क्रस कन्ट्री दौडमा रजत पदक जित्नुभएको थियो भने १५औँ र १६औँ संस्करणको पोखरा म्याराथनको उपाधि पनि जित्नुभएको थियो ।

विभिन्न आठ विधामा दिइने अवार्डको तेस्रो संस्करणको तयारी तीव्ररूपमा भइरहेको जनाइएको छ । उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधामा अवार्ड दिइनेछ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

‘एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’ को तेस्रो संस्करणको मुख्य प्रायोजक धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी रहेको छ भने मुख्य प्रवद्र्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ । त्यस्तै वर्षको पुरुष खेलाडी विधालाई काठमाडौंको मास हृयुम रिसोर्स र वर्ष महिला खेलाडी विधालाई वनदेवी युवा क्लबले प्रायोजन गरेको छ । सहप्रायोजकमा केल्मी रहेको छ ।