प्रधानमन्त्री देउवाको भारत भ्रमणको दोस्रो दिन: मोदीसंग भेटवार्ता आज, रेलसेवा उद्घाटन हुँदै।

काठमाडौं := भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा तीनदिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको आज (शनिबार) महत्वपूर्ण तथा व्यस्त भेटवार्ताको कार्यतालिका रहेको छ । भ्रमणको दोस्रो दिन आज बिहान १०ः४० बजे प्रधानमन्त्री देउवाले महात्मा गान्धीको समाधिस्थलमा फूलगुच्छा अर्पण गर्ने कार्यक्रम रहेको छ ।त्यसपछि औपचारिक समारोह र कार्यक्रमका लागि प्रधानमन्त्री देउवा हैदरावाद हाउस पुग्नुहुनेछ ।

त्यहाँ भारतीय समकक्षी नरेन्द्र मोदीसँगको छुट्टै भेटघाट र प्रतिनिधिमण्डलको दुईपक्षीय वार्ता हुनेछ । लगत्तै नेपाल-भारत रेलसेवाको संयुक्त उद्घाटन गर्ने कार्यक्रम रहेको छ । रेलसेवाको उद्घाटनबाहेक नेपालले प्रधानमन्त्रीको भ्रमणका दौरान केही अन्य विषयहरूको उठान गर्ने बताइएको छ । वर्षायाममा नेपाललाई बढी हुने बिजुली खरिदका लागि नेपालले भारत सरकारलाई आग्रह गर्ने, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागि भारतीय आकाशको रुट दिन भारतसँग आग्रह गर्ने तयारी नेपालको छ । संयुक्त वक्तव्य जारी गर्दै त्यहाँको कार्यक्रम सकिनेछ ।

आजै अपराह्न साढे ४ बजे प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति एस बेंकैया नायडुसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । भारतका राष्ट्रपति रामनाथ कोविन्द पूर्वनिर्धारित कार्यक्रमअनुसार अप्रिल १ देखि ७ तारिखसम्म विदेश यात्रामा रहेकाले उपराष्ट्रपतिसँग देउवाको भेट हुने भएको हो । आजै साँझ प्रधानमन्त्री देउवा भारतीय उद्योगी व्यवसायीसँगको अन्तरक्रियामा सहभागी हुने कार्यक्रम रहेको छ ।

तीनदिने औपचारिक भ्रमणको लागि शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा भारतको राजधानी नयाँदिल्ली पुग्नुभएको थियो । प्रधानमन्त्री देउवा पत्नी आरजू देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा, ऊर्जामन्त्री पम्फा भुसाल र कृषिमन्त्री महेन्द्र राय यादवसहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँदिल्ली जानुभएको थियो । प्रधानमन्त्री देउवा नेपाल एयरलाइन्सको विमानमार्फत नयाँदिल्ली जानुभएको हो ।

प्रधानमन्त्री देउवालाई भारतका रक्षाराज्यमन्त्री अजय भट्टले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । देउवाको स्वागतमा भारतीय राजदूत विनयमोहन क्वात्रा र विदेश मन्त्रालयका नेपाल हेर्ने सहसचिव अनुराग श्रीवास्तव पनि विमानस्थल पुग्नुभएको थियो । साथै भारतका लागि नवनियुक्त नेपालका राजदूत शंकर शर्मा पनि देउवाको स्वागतमा विमानस्थल पुग्नुभएको थियो ।

भ्रमणको पहिलो दिन शुक्रबार दिउँसो साढे ४ बजे प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री एस जयशंकरले भेटवार्ता गर्नुभएको थियो । भेटवार्तामा दुई देशबीचको सम्बन्ध र दुईपक्षीय आपसी सहयोगको विषयमा छलफल भएको थियो । नयाँदिल्ली चाणक्यपुरस्थित होटल आइटिसी मौर्यमा प्रधानमन्त्री देउवा र भारतका विदेशमन्त्री जयशंकरबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री देउवालाई भारतीय सुरक्षा सल्लाहकार अजित डोभालले पनि होटल मौर्यमै पुगेर भेट्नुभएको थियो । सोही होटलमा प्रधानमन्त्री देउवासहितको भ्रमण टोली बसेको छ । त्यसपछि साढे ५ बजे देउवा भारतीय जनता पार्टी भाजपाको केन्द्रीय कार्यालय पुग्नुभएको थियो । भाजपाको केन्द्रीय कार्यालयमा प्रधानमन्त्री देउवाको भव्य स्वागत गरिएको थियो । भाजपा कार्यालयको कार्यक्रम सकिएपछि देउवा दिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सामेल हुनुभएको थियो । दूतावासले दिल्लीमा रहेका नेपाली समुदायका प्रतिनिधिलाई पनि उक्त कार्यक्रममा बोलाएको थियो ।

तीन दिने भ्रमणका क्रममा प्रधानमन्त्री देउवा धर्मकर्ममा पनि व्यस्त रहनुहुनेछ । भ्रमणको तेस्रो दिन प्रधानमन्त्री देउवासहितको टोली बिहानै धार्मिक शहरको रूपमा प्रसिद्ध बनारसका लागि प्रस्थान गर्नेछ । त्यहाँ उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री देउवाको स्वागत गर्ने कार्यक्रम छ । भारत सरकारको विशेष विमानबाट बनारस लैजाने र ल्याउने व्यवस्था मिलाएको छ । बनारसको भ्रमण भने विशुद्ध धार्मिक गतिविधिमा केन्द्रित रहने बताइएको छ । त्यही दिन अपरान्ह नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रधानमन्त्री देउवा स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

गत असार २९ मा पाँचौँपटक मुलुकको कार्यकारी प्रधानमन्त्री भएयता प्रधानमन्त्री देउवा पहिलोपटक छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा जानुभएको हो । त्यसअघि प्रधानमन्त्री देउवा गत कात्तिकमा ग्लास्गो सम्मेलनमा भाग लिन युरोप भ्रमणमा जानुभएको थियो । युरोप भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले अमेरिकी राष्ट्रपति जो बाइडन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्व नेताहरूसँग शिष्टाचार भेट गर्नुभएको थियो । गत जनवरीमै ‘गुजरात समिट’का लागि भारत जाने तय भएपछि कोरोनाको तेस्रो लहरका कारण सम्मेलनसँगै देउवाको भ्रमण पनि स्थगित भएको थियो ।

नेपालको पछिल्लो राजनीतिक उतारचढावबीच नेपाल-भारत उच्चस्तरीय भ्रमण हुन नसकेको लामो समय भएको थियो । खासगरी २०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेयता नेपालको राजनीतिमा धेरै उतारचढाव आइसकेको छ । प्रतिनिधिसभाको पहिलो विघटन असफल भएपछि ओली नेतृत्वकै सरकारले ‘लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा’ कार्यान्वयनमा ल्याएको थियो । संविधान संशोधनमार्फत नेपालले जारी गरेको नयाँ नक्साप्रति भारत असन्तुष्ट छ । नेपालमा तीव्र राजनीतिक उतारचढाव भए पनि पछिल्लो समय भारतले विगतमा जस्तो तीव्र प्रतिक्रिया जनाउन छोडेको र नेपाल-भारतबीच परम्परागत सम्बन्ध नरहेको चर्चा भइरहेको बेला प्रधानमन्त्री देउवाको यो भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ ।

प्रधानमन्त्रीको भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउँछ : प्रवक्ता कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने बताउनुभएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले प्रधानमन्त्री देउवाको तीनदिने भारत भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ र उच्चस्तरमा पुर्‍याएर मुलुकको हित गर्ने बताउनुभएको हो ।

प्रवक्ता कार्कीले भन्नुभयो, ‘मूलरूपमा नेपाल र भारतको बीचमा सदियौँदेखि रही आएको जुन सम्बन्ध छ, त्यो सम्बन्धलाई अझ प्रगाढ गर्न, त्यो सम्बन्धलाई अझ उच्चस्तरमा पुर्‍याएर मुलुकको हितमा यो भ्रमण केन्द्रित रहने कुरा म यहाँहरूमार्फत निवेदन गर्न चाहन्छु ।’

आइतबारदेखि नै नियमित रेल चल्ने 

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज भारतको राजधानी नयाँदिल्लीबाट संयुक्त रूपमा धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रेल सेवाको ‘फ्लाग अफ’ गरी उद्घाटन गर्दै हुनुहन्छ । उद्घाटनसँगै शनिबार रेलमा दुवै देशका प्रतिनिधि सवार भएर भारतको जयनगरबाट नेपालको कुर्थातर्फ जाने रेल विभागका प्रवक्ता अमन चित्रकारले जानकारी दिनुभएको छ । अन्तरदेशीय रेल सेवाका रूपमा सञ्चालन हुने रेलमार्गमा जनकपुर आएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलगायत व्यक्ति कुर्थासम्म जाने कार्यक्रम छ । उनीहरू कुर्थासम्म पुगेर फर्किएर जनकपुर आउनेछन् भने रेल पुनःजयनगर जानेछ ।

नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतबाट ८४ करोड ६५ लाख रुपैयाँमा दुई सेट रेल खरिद गरिएको थियो । खरिद गरिएको डेढ वर्षपछि रेल सेवा सञ्चालन हुन लागेको हो । पहिले पुरानो प्रविधिको रेल सञ्चालनमा आए पनि आधुनिक प्रविधिको यो नै पहिलो रेल सेवा हो । यो रेल सेवा सुरु भएसँगै नेपालको रेल यातायाततर्फको अर्को यात्रा सुरु हुनेछ । आज (शनिबार) उद्घाटन भएपछि आइतबारदेखि नै तालिकाअनुसार नियमित रेल चल्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ । दिनको दुईपटक आउने र दुईपटक जाने गरी समय तालिका निर्धारण गरिएको जानकारी दिँदै नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले भन्नुभयो, ‘जयनगरबाट ८ः३० र ३ बजे छुट्नेछ भने कुर्थाबाट १०ः३० र ५ः१५ मा अर्को रेल छुट्नेछ । आइतबारबाट नै नियमित रूपमा रेल चलाउन हाम्रो तयारी पूरा भइसकेको छ ।’

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि सरकारले दुई सेट डेमो ट्रेन (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) ल्याइएको थियो । एउटा रेलमा एक हजार ३५० यात्रु यात्रा गर्न सक्ने महाप्रबन्धक झाले जानकारी दिनुभयो । हाल ३५ किमी लम्बाइमा रेल सञ्चालन हुनेछ । कुर्थादेखि बिजुलपुरासम्म थप १७ किमी रेलमार्गको निर्माण अन्तिम चरणमा पुगेको छ । त्यो सकिएपछि ५२ किमीमा रेल सञ्चालन हुनेछ । कुर्थाबाट बिजुलपुरासम्मको निर्माण झण्डै सकिएको र अबको दुईचार महिनामा रेल सञ्चालन गर्न सकिने नेपाल रेल्वे कम्पनीले जनाएको छ । ३५ किमीमा आठ ठाउँमा रेल रोक्न सकिनेछ । रेल सञ्चालनका लागि हाल २६ भारतीय र ५९ नेपाली कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ । भारतीय कर्मचारीमा खासगरी चालक दलका र केही इञ्जिनियर रहेको महाप्रबन्धक झाले जानकारी दिनुभयो ।

कुर्थाबाट जयनगर वा जयनगरबाट कुर्था ३५ किमीका लागि सामान्य सिटमा ९० रुपैयाँ भाडादर तोकिएको छ । एसीका लागि भने त्यसको पाँच गुणा अर्थात् ४५० रुपैयाँ तिर्नुपर्ने कम्पनीले जनाएको छ । कम दूरीमा यात्रा गर्दा स्वतः भाडादर त्योभन्दा कम हुने कम्पनीले जनाएको छ । नेपालमा राणाकालमै विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा सञ्चालन थियो ।