काठमाडौं:= काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट शृंखलामा मलेसियामाथि पपुवा न्यूगिनी (पीएनजी)ले ८ विकेटको सानदार जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा मलेसियाले दिएको १९७ रनको लक्ष्य पीएनजीले १३ बल बाँकिरहँदै २ विकेट गुमाएर भेटाएको हो ।
तेस्रो विकेटका लागि कप्तान असाद भाला र टोनी उराबीच १३५ रनको साझेदारी भएपछि पीएनजीले जारी शृंखलामा पहिलो जित हात पारेको हो । यसअघि पीएनजीले शृंखलामा लगातार तीन खेलमा हार व्यहोरेको थियो ।
आक्रामक खेल्ने क्रममा टोनीले ३४ बलमा २ चौका र १० छक्कासहित ८६ रनको नटआउट पारी खेल्नुभयो । यस्तै भालाले ५१ बलमा ८ चौका र एक छक्कासहित ७४ रन जोड्नुभयो । १८ ओभरको दोस्रो, तेस्रो र पाँचौं बलमा लगातार टोनीले तीन छक्का प्रहार गर्दै विजयी रन बटुल्नुभएको थियो । यस्तै चौथो बलमा उहाँले चौका हिर्काउनुभयो ।
त्यसबाहेक चाल्र्स एमिनीले २२ बलमा ५ चौकासहित २८ रन थप्नुभयो । ओपनर लेगा सिका भने शून्य रनै आउट हुनुभयो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९६ रन बनाएको थियो । मलेसियाका आपेनर जुर्बादी जुलकिफीले आक्रामक पारी खेल्नुभयो । २२ बलमा उनले ४ चौका र ४ छक्कासहित ४६ रन जोड्नुभयो ।
यस्तै अर्का ओपनर वीरनदीप सिंह भने १० रनमा आउट हुनुभयो । कप्तान अहमद फैजले ६३ र सइज अजिजले ६४ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । फैजले ४३ बलमा ५ चौका र ३ छक्का प्रहार गर्नुभएको थियो । यस्तै अजिजले ३५ बलमा ८ चौका र ३ छक्का प्रहार गर्नुभयो ।
पाँचौं ओभरमा ३८ रन जोड्दा मलेसियाले पहिलो विकेट गुमाएको थियो । यस्तै ६२ रनमा उसले दोस्रो विकेट गुमायो । तेस्रो विकेटका लागि फैज र अजिजबीच ११५ रनको साझेदारी गरेपछि मलेसिया उक्त स्कोरमा पुगेको थियो । पीएनजीका काबुआ मोरियाले ४ विकेट लिनुभयो । ३ ओभरमा उनले २९ रन खर्चिनुभएको थियो । यस्तै रिले हेकुरे र चाद सोपरले समान १-१ विकेट लिनुभयो ।
जितसँगै पीएनजी दुई अंकसहित दोस्रो स्थानमा पुगेको छ । मलेसिया रनरेटमा पछि पर्दै तेस्रो स्थानमा छ । अब शनिबार हुने नेपाल र मलेसियाबीचको विजेताले फाइनलमा नेपालसँग खेल्नेछ । नेपाल भने यसअघि नै तीन खेल जितेर फाइनलमा पुगिसकेको छ ।




















