नेपाल र मलेसियाबीच मानव अधिकार सम्बन्धमा ११ बुँदे समझदारीपत्रमा हस्ताक्षर।

क्वालालम्पुर (मलेसिया):= राष्ट्रिय मानवअधिकार आयोग नेपाल र मानव अधिकार आयोग मलेसिया (सुहाकाम) बीच दुवै देशमा रहेका आप्रवासी श्रमिकहरुको मानवअधिकार संरक्षण सम्बन्धमा ११ बुँदे समझदारीपत्रमा हस्ताक्षर सप्पन्न भएको छ।

आयोगका अध्यक्ष तपबहादुर मगर र मानवअधिकार आयोग मलेसियाका अध्यक्ष ओथमान बिन हासिम उपस्थितिमा सोमबारको दिन मलेसियामा आयोजित एक समारोह कार्यक्रममा दुई देशबिचको समझदारीपत्रमा हस्ताक्षर भएको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जारी गरेको एक प्रेस नोटमार्फत जनाइएको छ।

समझदारीपत्रमा विशेषगरी आप्रवासी श्रमिकको अधिकार संरक्षणका लागि उजुरीमा सम्बोधन, उजुरी प्रेषण, सूचना आदानप्रदान, रोजगारदातालाई प्रशिक्षण, प्राविधिक सहयोग, आप्रवासी श्रमिकलाई कानुनी सहयोग, अध्यागमन, कारागार र हिरासत कक्षको संयुक्त अनुगमन गरी अधिकार संरक्षण र प्रबर्द्धनको वातावारण सिर्जना गर्नेलगायतका विषय रहेका छन्।

समझदारीपत्र कार्यान्वयनका लागि कार्यान्वयन योजना बनाई कार्यान्वयन गर्ने, दुवै आयोगमा सम्पर्क अधिकृत तोक्ने र प्रत्येक छ महिनामा समन्वय बैठक गर्ने व्यवस्था रहेको छ।समझदारीपत्र हस्ताक्षर  समारोहमा आयोगका सदस्य लिली थापा, कामु सचिव मुरारीप्रसाद खरेल, सहसचिव र अन्तर्राष्ट्रिय सम्बन्ध र आप्रवासन अधिकृतको सहभागिता थियो।

मानवअधिकार आयोग मलेसियाका तर्फबाट उपाध्यक्ष जोसेफ जेराल्ड र अन्य आयुक्त तथा सम्बन्धित विभागका कर्मचारीका साथै नेपाली दूतावास मलेसियाका उपनियोग प्रमुख मोतीबहादुर श्रीसलगायतको सहभागिता रहेको आयोगले जनाएको छ। समझदारीपत्र हस्ताक्षर सम्पन्न गर्नुअघि दुवै पक्षबीच श्रमिकको समस्यालाई लिएर गहन रुपमा छलफल पनि भएको थियो।