बाउले लिएको ऋण तिर्न छोरा हरुवा चरुवाको काम गर्न बाध्य।

[ प्रकाश मैनाली ] 

सर्लाही:= सर्लाहीको हरिपुर नगरपालिका –९, पिडारीमा बसोवास गर्ने मुसहर समुदाय पुस्तौँदेखि हरुवा–चरुवाको काम गर्न बाध्य भएका छन् । मधेस प्रदेशमा पर्ने सर्लाहीसहित अन्य जिल्लामा अहिले पनि जमिन्दारको घरमा हरुवा–चरुवा राख्ने प्रचलन कायमै छ । पीडारीका ६० वर्षीय लक्ष्मण माझी मुसहरले दश बाह्र वर्षको उमेरदेखि नै गाउँका जमिन्दारको बस्तुभाउ चराउँदै आएको बताए ।

हरिपुर नगरपालिका १ जानकीनगरस्थित वनक्षेत्रमा वस्तुभाउ चराउँदै गर्दा भेटिएका माझीले परिवारको पेट पाल्नकै लागि वृद्ध हुँदा समेत हरुवा चरुवाको काम गर्नुपरेको गुनासो पोखे । “गाई चराएबापत बर्सेनि मनी (अन्नबाली) दिन्छन्, पहिला सालभरी एउटा गाई चराएको चार पसेरी धान दिन्थे, अहिले १६ पसेरी दिन्छन्,” माझीले उज्यालो अभियानसँग भने, “त्यही अन्नबालीबाटै वर्ष दिनभरी खाने र औषधि उपचार गर्ने खर्चको जोहो गर्दै आइरहेको छु ।”

माझीले अहिले जमिन्दारको ५० वटा गाई चराउँछन् । सुरुमा तीन सय वटासम्म गाई चराउनेगरेको भएपनि अहिले धेरैले वस्तुभाउ पाल्न छाडेपछि ५० वटा गाई मात्रै चराउँदै आएको उनले बताए ।

वर्षौदेखि हरुवा–चरुवा बसेर जीविकोपार्जन गर्दै आइरहेको भएपनि आफूहरुको समस्यामा जुनसुकै सरकार आउँदा पनि वास्ता नगरेको उनको गुनासो छ । ‘हामी मुसहरको आफ्नै जग्गाजमिन छैन्, सरकारले सुकुम्वासी र मुसहरलाई जग्गा दिने पटक–पटक आश्वासन दिएपनि केही पाएका छैनौँ,” माझीले भने, ‘शरीरले सकुञ्जेल हरुवा–चरुवा बसेरै पेट पालौँला तर हिँड्नै नसक्ने भएपछि के गरी पेट पाल्ने चिन्ता छ ।’

पिडारीका अर्का स्थानीय रामनारायण माझीले साहुबाट २० वर्षअघि लिएको दुई लाख ५० हजार रुपैयाँ तिर्न नसक्दा वर्षौदेखि हरुवा बस्दै आएका छन् । ‘२० वर्षदेखि निरन्तर साहुको घरमा गएर काम गर्दा पनि अझै ऋण चुक्ता भएको छैन्, उल्टै अहिले त साहुले मेरो ऋण पाँच लाख पुगिसक्यो भन्छन्” माझीले भने, ‘ऋण नभएको भए अरुकोमा गएर काम गर्थें तर ऋण बुझाउन नसक्दा एउटै साहुको घरमा बँधुवाजस्तै भएर काम गर्नुपरेको छ ।’

अन्यत्र काम गर्न जाँदा पाँचसय रुपैयाँ पाउने गरेको भए पनि ऋण लिएको साहुकहाँ काम गर्न जाँदा ज्यालाबापत दैनिक तीनसय रुपियाँ मात्रै पाउनेगरेको उनले बताए । पिडारीका अन्य माझी मुसहर परिवार पनि यसरी नै गाउँका साहु महाजनको घरमा हरुवा–चरुवाको रुपमा काम गर्दै आइरहेका छन् ।

हरुवा–चरुवा नबस्नेहरु इँटाभट्टामा काम गर्न जानेगरेको बताउँछन् । पिडारी गाउँका मुसहर समुदायमा चेतनास्तर निकै कमजोर छ । बालबालिकाहरु विद्यालय जाँदैनन् भने विद्यालय जाने बालबालिकाले पनि बीचमै पढाइ छाड्ने गरेका छन् । पिडारीका वडाध्यक्ष हरिनाथप्रसाद साहले मुसहर समुदायको उत्थान र विकासका लागि पहल गर्दै आइरहेको बताउँछन् ।

‘हरुवा–चरुवा त उनीहरुको पुस्तौँदेखिको पेशा हो, अत्यधिक मदिरा सेवन गर्ने यो समुदाय मदिराकै कारण पछि परेको छ,” वडाध्यक्ष साहले भने, “हामी जनप्रतिनिधिको तर्फबाट उनीहरुको चेतनास्तर उकास्न सचेतनामूलक कार्यक्रम र मुसहर बालबालिकालाई विद्यालय भर्ना गराउने कार्यक्रम बर्सेनि गर्दैआइरहेका छौँ ।’