राजेन्द्र लिङ्देनको प्रश्न: देउवा, ओली र प्रचण्डलाई कति वर्ष थपिदिँदा देश बन्छ होला?

काठमाडौं:= राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विकास र समृद्धिको दृष्टिले देशलाई पाँच वर्षमा कायापलट गर्ने दाबी गर्नु भएको छ । एमाले, कांग्रेस र माओवादीप्रति आक्रोशित हुँदै लिङ्देनले यी तीन दलले धेरै वर्षदेखि देशलाई विकसित र समृद्ध नगर्न नसकेको र राप्रपालाई पाँच वर्ष काफी हुने बताउनु भयो ।

राजधानीमा शनिबार पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले राप्रपालाई एकपटक ठूलो पार्टी बनाएर सत्तामा पुर्‍याइदिन जनतासँग आग्रह गर्नु भएको छ । राप्रपाप्रति जनलहर आएको र त्यस आधारमा राजनीतिक शक्ति जनताबाट राप्रपाको हातमा आउने देखिएको पनि लिङ्देनको भनाइ छ ।

उनले जनताबाट राजनीतिक शक्ति आएको अवस्थामा राप्रपाले देश विकासमा पूर्ण रूपले सदुपयोग गर्नेपर्ने धारणा राख्नु भयो । तर, एमाले, कांग्रेस र माओवादीबाट देश बन्ने सम्भावना नभएको ठोकुवा गर्नु भयो ।

‘शेरबहादुर देउवालाई कति पटक वा कति वर्ष थपिदियौँ भने देश बनाउन सक्षम हुनुहोला ? कोही कांग्रेसीजनले भन्न सक्छ ? शेरबहादुर देउवालाई ५ वर्ष दियौँ भने यो देश बन्छ ? अथवा केपी ओली, प्रचण्ड ?’, लिङ्देनले प्रश्न गर्नु भयो, ‘उहाँहरूलाई कति वर्ष र कति कार्यकाल दिँदा यो देश बन्छ होला ? यसकारण मैले भन्छु तपाईंहरूलाई कि अब बेला आयो ।’ लिङ्देनले थप्नु भयो तीन दलबाट देश बन्ने कुराको आशा राख्नु साँडेको टाङमुनि बाल्टी थापेर दुध चाहनु जस्तै भएको टिप्पणी गर्नु भयो ।