प्रणाली अनुरुपको सामाजिक न्याय नभएका कारण आर्थिक विकास हुनसकेन: अर्थमन्त्री शर्मा।

काठमाडौं := अर्थमन्त्री जनार्दन शर्माले प्रणाली अनुरुपको सामाजिक न्याय हुन नसक्दा गणतन्त्रपछि पनि आर्थिक विकास हुन नसकेको बताउनु भएको छ ।

राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको नेपाली अर्थतन्त्रको समसामयिक मुद्दाहरु र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यदिशामाथि छलफलमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताउनु भएको हो ।

उहाँले सामाजिक न्याय र कसरी मौलिक अधिकारलाई परिपूर्ति गर्न सकिन्छ ? भन्ने बारेमा सबै राजनीतिक दलहरुमा आधारभुत एकरुपता हुनुपर्ने बताउनु भयो । अर्थमन्त्री शर्माले अहिले शोधनान्तर घाटाको अवस्था ठूलो रहेको पनि बताउनु भयो ।

अर्थमन्त्री शर्माले भन्नुभयो, ‘आज गणतन्त्रपछि पनि पनि विकासले नयाँ गति लिन नसक्नुको कारण हाम्रो यो प्रणाली राज्य प्रणालीको कुरा गरेका छौँ । त्यो प्रणालीअनुरुपको के को कुरा के हो भन्ने एउटाले अर्कोले अर्को कुरा भनिरहेको छ ।

कसरी हुनसक्छ सामाजिक न्याय, कसरी मौलिक अधिकारलाई परिपूर्ति गर्न सकिन्छ ? भन्ने प्रश्नमा राजनीतिक दलहरुका आधारभुत एकरुपता चाहिन्छ । सबै सैद्धान्तिक कुरा मात्रै होइन ।’

मन्त्री शर्माले कोरोना महामारीका बीच पनि आर्थिक क्रियाकलापहरुमा वृद्धि भइरहेको बताउनु भयो । उहाँले पछिल्लो समय आयात बढेको र उपभोग्य वस्तुको आयात, कृषिजन्य वस्तुको आयात  अर्बौंमा रहेको बताउनु भयो ।