लण्डन:= म्यानचेष्टर सिटी र लिभरपुल एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । म्यानचेष्टर सिटीले साउथ ह्याम्टनमाथि ४-१ को जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
सिटीको जितमा रहिम स्टर्लिङ, केभिन डि ब्रुएन, फिल फोडेन र रियाद महारेजले गोल गर्नुभयो । साउथ ह्याम्टनले एक गोल आत्मघाती उपहार पाएको थियो । आइतबार राति भएको खेलको १२औँ मिनेटमा रहिम स्टर्लिङले सिटीलाई अग्रता दिलाउनुभयो ।
पहिलो हाफको इन्ज्युरी समयमा एमरिक लापोर्टाले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुग्यो । ६२औं मिनेटमा केमिन डि ब्रुएनले पेनाल्टीमा गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाउनुभयो । ७५औं मिनेटमा फिल फोडेनले र ७८औँ मिनेटमा रियाद महारेजले गोल गर्दै सिटीको जित पक्का गर्नुभयो ।
यस्तै, अर्काे खेलमा लिभरपुले नथिङघम फरेष्टलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो । लिभरपुलको जितमा डिएगो जोटाले ७८औँ मिनेटमा निर्णायक गोल गर्नुभयो । त्यसबाहेक क्रिष्टल प्यालेसले पनि एभर्टनलाई ४–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । क्रिष्टल प्यालेसको जितमा मार्क गुही, जिन फिलिप माटेटा, वेलफ्रेड जाहा र विल ह्युगले गोल गर्नुभयो ।
योसँगै एफए कपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि शनिबार राति चेल्सीले मिडल्सव्रगलाई पराजित गर्दै अन्तिम चारमा पुगिसकेको छ । अब सेमिफाइनलमा चेल्सी र क्रिष्टल प्यालेस तथा सिटी र लिभरपुलबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनलका खेलहरू १६ अप्रिलमा तथा फाइनल १४ मेमा हुनेछ ।




















