महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एन्जिलाको कथामा चलचित्र ‘अन्जिला’ बन्ने

काठमाडौं:= महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर चलचित्र ‘अन्जिला’ निर्माण हुने भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमबीच चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो ।

मिलन चाम्सको निर्देशनमा बन्न लागेको चलचित्रमा एन्जिला स्वयंको मुख्य भूमिका रहनेछ । उहासँगै चलचित्रमा दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रेमकुमार श्रेष्ठ लगायतको अभिनय रहनेछ ।

एन्जिलाले फुटबलर बन्नका लागि गरेको संघर्ष र सफलताको कथालाई चलचित्रमा जोड दिइने निर्देशक चाम्सले जानकारी दिनुभयो । उहाँले चलचित्रको घोषणा सभामा भन्नुभयो, ‘एन्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथालाई चलचित्रमा देखाउने छौं । सफल खेलाडी बन्नु अगाडि एन्जिलाले गरेका दुःखहरू धेरै छन्, त्यसलाई चलचित्रमा विशेष जोड दिनेछौं । इच्छा भयो र गर्न चाहे असम्भव भन्ने कुरा नहुने सन्देश चलचित्रले दिनेछ ।’

खेलमा पोख्त एन्जिला पहिलो पटक अभिनयको पनि अनुभव बटुल्दै हुनुहुन्छ । त्यस्तै, अभिनेता दयाहाङ राईले पहिलो पटक आफूले खेलाडीको बायोपिकमा काम गर्न लागेकोमा खुसी व्यक्त गर्नुभयो । निर्माता प्रेमकुमार श्रेष्ठले भने एन्जिलाको कष्टकर बाल्य जीवनदेखि सफलतासम्मको कथालाई चलचित्रमा देखाइने जानकारी दिनुभयो ।

१३ वर्षदेखि एन्जिलाको अभिभावकत्व ग्रहण गर्दै आउनु भएका उहाँले शिक्षा-दिक्षादेखि खेलाडी बनाउने सहमतिमा हस्ताक्षर गरेर एन्जिलालाई मोरङबाट काठमाडौं ल्याउनु भएको थियो ।