[ डिबी शर्मा ]
काठमाडौं:= बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्नुलगायत कारणले समग्रमा उपभोग्य वस्तुको मूल्य आकासिएको हो । पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनु, डलरको तुलनामा भारतीय मुद्राको अवमूल्यन हुनु र त्यसको प्रभावमा नेपालले डलरको मूल्य अत्यधिक तिर्नुपर्ने चापको कारणले महँगी बढेको हो ।
आम नागरिकलाई महँगीले निकै चिन्तित बनाएको छ । मूल्यवृद्धिले जनताको ढाड भाँचेको छ । दैनिक जीवन धान्न कठिन भएको छ । न्यून आय भएका मानिसहरू अहिले बजारमा अत्यधिक मूल्यवृद्धि भएपछि जीवनयापनमा समस्या भएको गुनासो गरिरहेका छन् । बजारमा अत्यधिक मूल्यवृद्धि हुँदासमेत सरकारका नियामिक निकाय मौनजस्तै छन् ।
पेट्रोल र डिजेलको मूल्य हालसम्मकै उच्च विन्दुमा
पेट्रोल र डिजेलको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । पेट्रोल प्रतिलिटर १५५ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै नेपाल आयल निगमले मूल्य बढाएको हो ।
पेट्रोल डिजल मात्र होइन उपभोक्ताको भान्छामा छिनछिनमै प्रयोग हुने एलपी ग्यासको मूल्य पनि आकासिएको छ । पछिल्लोपटक नेपाल आयल निगमले २४ कात्तिकमा ग्यासको मूल्य बढाएको थियो । १५०० रुपैयाँ रहेको ग्यासको मूल्य ७५ रुपैयाँ बढाएर अहिले प्रतिसिलिण्डर १५७५ कायम गरिएको छ ।

दैनिक उपभोग्य वस्तुमा अचाक्ली महँगी
खाने तेलदेखि दाल, चामललगायत खाद्यान्नको मूल्य अचाक्ली बढेको छ । युक्रेन-रुस युद्धको बहानामा नेपाली बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ली बढेको हो । उसो खाद्यान्न मात्रै होइन हरियो तरकारी, फलफूल, मासु लगायतको मूल्य पनि अकासिएको छ । देश आत्मनिर्भर रहेको भनिएको अण्डा र दूधको मूल्यसमेत बढेको छ ।
पछिल्लो दुई÷तीन सातामा हरेकजसो वस्तुमा २० देखि ४० प्रतिशतसम्म महँगी बढेको छ । एक महिनामै खाने तेल एक लिटरमा ४० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ । चामल २५ किलोको बोरामा दुई सय रुपैयाँसम्म मूल्यवृद्धि भएको छ भने मुुसुरोको दाल किलोमा नै ४० रुपैयाँले मूल्यवृद्धि भएको छ ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, तरकारी र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २०.६८ प्रतिशत, १४.०७ प्रतिशत र ९.३६ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । साथै, गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात, शिक्षा र फर्निसिङ तथा घरायसी सामग्रीको मूल्य पनि बढेको छ ।
ब्रोइलर कुखुराको मासुको मूल्य अत्यधिक बढ्यो
बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य पनि अत्यधिक बढेको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा ब्रोइलर कुखुराको मासु प्रतिकिलो ४२० रुपैयाँसम्म पुगेको छ । फागुन मध्यसम्म खुद्रा बजारमा कुखुराको मासु प्रतिकिलो ३५० रुपैयाँसम्ममा पाइन्थ्यो ।
तर, केही दिनयता मासुको मूल्य प्रतिकिलोमा ७० रुपैयाँसम्म बढेको हो । हाल मुलुकमा दैनिक ६० देखि ८० टन मासु खपत हुने गरेको छ । काठमाडौं उपत्यकामै दैनिक ५० टन माग रहेको छ ।
मूल्यवृृद्धि नियन्त्रण नभएसम्म निर्माण होलिडे कायम गर्न माग
नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीमा अप्रत्यासित, मूल्यवृृद्धि भएकाले नियन्त्रण नभएसम्म निर्माण होलिडे कायम गर्न माग गरेको छ । महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सबै किसिमका ठेक्कामा मूल्यवृृद्धि पाउनेगरी सार्वजनिक खरिद अनुगमन कार्यालयबाट मूल्य समायोजनको लागि विशेष व्यवस्था गर्न माग गरेको हो ।
महासंघले २२ बुँदे काठमाडौं घोषणापत्र सार्वजनिक गर्दै हाल बजारमा निर्माण सामग्रीहरू बिटुमिन, नदीजन्य सामग्री फलामजन्य सामग्री र सिमेन्टलगायत हरेक सामानमा मूल्यवृद्धि नियन्त्रण नभएसम्म निर्माण होलिडे कायम गर्ने बताएको छ ।




















