काठमाडौं:= उपत्यकासहित पहाडी जिल्लामा बिहीबार उल्लासपूर्वक होली पर्व मनाइएको छ । सरकारले सार्वजनिक बिदासमेत दिएकाले काठमाडौंमा होलीको उल्लास हेर्नलायक थियो । रङहरूको पर्व फागु पूर्णिमा (होली) बिहीबार नेपालको पहाडी जिल्लामा हर्षोल्लासपूर्वक मनाइएको छ ।
मधेशका जिल्लामा भने आज (शुक्रबार) मनाइँदैछ । घरमा परिवारसँग र घरबाहिर साथीहरूसँग आपसमा रङ दलेर होलीको खुसियाली साटासाट गरेर होली मनाइएको छ । एक-अर्कामा अबीर दलेर सर्वसाधारणले होली मनाएका छन् । विभिन्न संघसंस्था तथा व्यावसायिक कम्पनीहरूले समेत सार्वजनिक ठाउँमा होली विशेष कार्यक्रम आयोजना गरेका थिए । कोरोना भाइरस (कोभिड-१९)को संक्रमणका कारण विगतका दुई वर्ष उल्लासपूर्वक होली पर्व मनाउन नपाएका नेपालीले यो वर्ष भने होली पूर्ण उल्लासपूर्वक मनाएका छन् ।
शरद् ऋतुबाट वसन्त ऋतुको आगमन भएको सुखद समयमा होली पर्व मनाइन्छ । होलीको अवसरमा काठमाडौंको वसन्तपुरमा भएको होली विशेष कार्यक्रमम हजारौँको उपस्थिति थियो । वसन्तपुरमा नेपाल प्रहरीको विशेष सांगीतिक समूहकोसमेत प्रस्तुति थियो । विदेशी पर्यटसकेत होली रमाइरहेका देखिन्थे ।
यसैबीच, रङहरूको पर्व फागुमा सामान्य सबै रङसँग रमाए पनि विभिन्न विधाका कलाकारहरूले भने रङको कलाकृति बनाएर छुट्टै तरिकाले फागु पर्व मनाएका छन् । रङहरूको पर्व फागु पर्वको अवसरमा विभिन्न कलाकार तथा साहित्यकारहरूले विशेष चित्रकला कार्यशाला आयोजना गरी फागु पर्व मनाएका छन् । होली पनि भनिने फागुमा रङमा झुम्ने र रङ साटासाट गरेर प्रेम साट्ने प्रचलन रहेको छ ।
तर, कलाकारहरूले उक्त रङ साटासाट गरेर नभई रङले विभिन्न प्रकृति, संस्कृति तथा मनोभाव झल्कने चित्र बनाएर फरक तरिकाले मनाएका छन् । विशेष चित्रकला कार्यशाला कार्यक्रममा बोल्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति तथा वरिष्ठ कलाकार केके कर्माचार्यले विभिन्न फरक-फरक विधाका कलाकारहरूले रङले चित्र बनाएर होली मनाउनु ऐतिहासिक भएको बताउनुभयो ।
उहाँले नेपालमा रंगकर्मी भनेर नित्य विधाका कलाकारलाई भन्ने गरेको तर नित्य विधाका कलाकारलाई नभएर ललितकलालाई रंगकर्मी भन्नुपर्ने बताउनुभयो । त्यस्तै, वरिष्ठ साहित्यकार डा. रामप्रसाद ज्ञवालीले आफूले पहिलोपटक चित्र बनाउँदा रोमाञ्चक अनुभव गरेको बताउनुभयो । उहाँले चित्र बनाउँदै गर्दा एउटा कलाकारले मनोरञ्जनका लागि मात्रै कला प्रस्तुत गर्ने होला कि कलाले समाज परिवर्तनको लागि भूमिका खेल्न सक्ला कि नसक्ला भन्ने भावना मनमा लागेको बताउनुभयो ।
प्राकृतिक रङको होली खेल्नुपर्नेमा सरोकारवालाहरूको जोड
होली पर्वलाई समाजमा सकारात्मकता र सद्भावना ल्याउनका लागि मनाउनु पर्नेमा संस्कृतिविद्हरूले जोड दिएका छन् । फागुन शुक्ल पूर्णिमाका दिन नेपालमा वसन्तोत्सवको रूपमा मनाउने गरिएको र होलीलाई प्राकृतिक रङहरूसँग नै मनाएर समाजमा सकरात्मकता र सद्भावना ल्याउन आवश्यक रहेको संस्कृतिविद्हरूले जोड दिएका हुन् ।
सहप्राध्यापक डा. प्रियंवदा काफ्लेले होली अर्थात् फागु पूर्णिमा राक्षसी होलिका दहन भएको उपलक्ष्यमा खेलिने पर्व भएको बताउनुभयो । उहाँले अहिले नेपालमा होलीलाई नकरात्मक तवरबाट मनाइँदै आएको बताउँदै होली राक्षसी प्रवृत्तिलाई विनाश गर्ने र सकारात्मकता, सद्भावनालाई समाज र आफूमा ल्याउने पर्व भएको बताउनुभयो ।
उहाँले होली प्राकृतिक रङहरूबाट खेल्ने पर्व भएको र घरमै बेसार, चामलको पीठो, चुकन्दर र प्राकृतिक वनस्पतिबाट रङहरू बनाएर खेल्नुपर्नेमा जोड दिनुभयो । सहप्राध्यापक काफ्लेले प्राकृतिक रङलाई ग्रहण गर्दा हाम्रो छाला र स्वास्थ्यमा पनि फाइदा पुग्ने भएकोले पनि प्राकृतिक रङबाट होली खेल्न पहल गर्नुपर्ने बताउनुभयो ।
सहप्राध्यापक काफ्लेले भन्नुभयो, ‘फागुलाई दुई/तीनवटा दृष्टिकोणले हेर्न सकिन्छ । राक्षसी होलिका दहन भएको उपलक्ष्यमा खेलिने फागु पर्व, अर्को पक्ष भनेको कृष्ण भगवान्ले गोपिनीहरूसँग वसन्तोत्सव मनाएको फागु पर्व होली हो यसलाई रङहरूको पर्वको रूपमा धेरैले जान्दछन् । रङहरूको महत्वलाई हेर्दा हाम्रो सबै चाडपर्वहरू प्रकृतिसँग नजिक छ । हामीले प्रकृति रङहरूलाई ग्रहण गर्नुपर्छ ।
प्राकृतिक रङलाई ग्रहण गर्दा हाम्रो त्वचा (छाला) लाई, स्वास्थ्यलाई धेरै नै लाभ पुग्छ । कृत्रिम खालका रङहरूलाई हामीले लिँदा त्यसले धेरै हानि गर्दछ । त्यसैले घरमै बनाइएका प्राकृतिक रङहरूलाई हामीले प्रोत्साहन गरेर प्रयोग गर्ने हो भने यसले हाम्रो शरीरलाई पनि राम्रो गर्दछ । कसैले पनि यसलाई नकारात्मक रूपमा व्याख्या गर्न हुँदैन ।’ सहप्राध्यापक काफ्लेले होलीको महत्व आजका नयाँ पुस्तालाई बुझाउन शिक्षामा समावेश गर्नुपर्ने बताउनुभयो ।
फागु पूर्णिमा मनाउँदै विदेशी पर्यटक
काठमाडौं, पोखरालगायत पर्यटकीयस्थलमा विदेशी पर्यटकहरूले पनि फागु पूर्णिमा मनाएका छन् । पोखरेलीहरूसँगै विदेशी पर्यटकहरूले पनि एक आपसमा शुभकामना साट्दै रंगहरूको पर्व फागु पूर्णिमा मनाएका हुन् । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) च्याप्टर पोखराले फागु पूर्णिमाको अवसरमा लेकसाइडमा विशेष कार्यक्रम नै आयोजना गरेको थियो ।
पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ महोत्सवको रूपमा कार्यक्रम आयोजना गरिएको रेवानका अध्यक्ष लक्षमण वरालले बताउनुभयो । महोत्सवमा नाचगान र रङले छ्यापाछ्याप गर्दै लेकसाइड परिक्रमा गर्दा विदेशी पर्यटकहरू निकै रमाएका देखिन्थे । पहिलोपटक फागु पूर्णिमामा सहभागी भएका कतिपय विदेशीहरू पनि नेपालीहरूसँगै उत्तिकै रमाइलोमा सहभागी भएका थिए ।
पर्यटकहरू बालबच्चाहरूसँग खुसी भएर रङ हान्न र अबीर खेल्नमा व्यस्त देखिन्थे । पर्यटकको बढी चहलपहल हुने लेकसाइडको तीन किलोमिटर क्षेत्रमा पर्यटकहरूलाई सहभागी गराई सामूहिक रूपमा होली खेलेर पञ्चेबाजा, संगीतका साथमा फागु खेल्दै गौरीघाट, वाराहीचोक, हल्लनचोक हुँदै खहरेचोक पुगेर महोत्सव सकिएको थियो ।
फागु पूर्णिमाको अवसरमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सवारी चेकजाँचमा कडाइ गरेको थियो । काठमाडौं उपत्यकाका ६८ ठाउँमा ट्राफिक प्रहरीको चेक प्वाइन्ट राखिएको थियो । यस्तै, ठाउँ-ठाउँमा राडार गनबाट गति निगरानीसमेत भइरहेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (एसपी) सञ्जीव शर्माले जानकारी दिनुभयो ।




















