दक्षिण कोरियामा थप ९ हजारभन्दा बढी कामदारका लागि भाषा तथा सीप परीक्षाको आवेदन खुल्यो।

काठमाडौं:= कोरोना भाइरस (कोभिड-१९)का कारण लामो समय थला परेको वैदेशिक रोजगार संक्रमण कम भएसँगै विस्तारै खुल्न थालेको छ । विश्वव्यापी रूपमा संक्रमण कम भएपछि विभिन्न देशहरूले नेपाली कामदार लैजान थालेका छन् । नेपाली कामदारका लागि आकर्षक गन्तव्य मानिने दक्षिण कोरियामा थप नौ हजारभन्दा बढी कामदारका लागि भाषा तथा सीप परीक्षाको आवेदन खुलेको छ ।

वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले कामदारको छनोटका लागि सूचना जारी गर्दै भाषा तथा सीप परीक्षाको आवेदन माग गरेको हो । सन् २०१९ पछि दुई वर्ष रोकिएको भाषा परीक्षा २०२२ को लागि नौ हजार ६२४ जनालाई छनोट गर्ने योजनासहित आगामी वैशाखबाट सञ्चालन गर्न लागिएको हो । भाषा परीक्षा वैशाख २६ बाट असोज २१ गतेसम्म चरणबद्ध रूपमा हुने शाखाका निर्देशक पुष्पराज कटुवालले बताउनुभयो । उहाँका अनुसार १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले अनलाइनमार्फत आवेदन दिन पाउनेछन् ।

कृषि तथा पशुपालन क्षेत्रको पहिलो भाषा र सीप परीक्षण परीक्षा वैशाख २९ देखि जेठ १३ सम्म तथा दोस्रो परीक्षा जेठ २४ देखि असार १६ सम्म हुनेछ भने उत्पादनमूलक क्षेत्रको पहिलो भाषा परीक्षा तथा सीप परीक्षण परीक्षा असार २० देखि भदौ १० र दोस्रो परीक्षा भदौ १६ देखि असोज २१ सम्म हुनेछ ।

सार्वजनिक सूचनाअनुसार उत्पादनमूलक क्षेत्रमा पढाइ र सुनाइ गरी १०० पूर्णांकको परीक्षामा उत्तीर्ण हुन कम्तीमा ५५ अंक ल्याउनुपर्नेछ । ९० पूर्णांकको कृषि तथा पशुपालन क्षेत्रमा उत्तीर्ण हुन कम्तीमा ३६ अंक ल्याउनुपर्नेछ । उत्पादनमूलक क्षेत्रमा ६ हजार ९१३ र कृषि तथा पशुपालन क्षेत्रमा दुई हजार ७४१ जना गरी कुल नौ हजार ६५४ जना कामदार छनोटको लागि आवेदन माग गरिएको  हो । कोरियन भाषा तथा सीप परीक्षाका लागि चैत १४ देखि २१ सम्म अनलाइनबाट आवेदन दर्ता गर्न सकिने शाखाले जनाएको छ । नेपाल र कोरियाबीच श्रम सम्झौताअनुसार वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान भाषा तथा सीप परीक्षा अनिवार्य उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था छ । कोभिड–१८को महामारीका कारण कामदार लैजान कोरियाले २० महिना बन्द गर्दा यसअघि नै इपिएस परीक्षा उत्तीर्ण गरेका करिब आठ हजार नेपाली कामदार कोरिया जाने पर्खाइमा छन् ।

क्वारेन्टिनमा बस्नुपर्ने बाध्यता हट्यो

विदेशबाट दक्षिण कोरिया प्रवेश गर्नेलाई त्यहाँको सरकारले अब क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था मार्च २१ तारिखबाट लागू हुने दक्षिण कोरिया सरकारले जनाएको हो । यसअघि दक्षिण कोरिया प्रवेश गर्ने सबैले अनिवार्य रूपमा सात दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था थियो ।

यो व्यवस्थासँगै दक्षिण कोरिया जानलाई थप सहज हुने भएको छ । क्वारेन्टिनका लागि बस्ने ठाउँकै अभावका कारण लामो समयदेखि नेपाललगायत अन्य देशबाट विदेशी नागरिक सहज रूपमा कोरिया उड्न पाइरहेका थिएनन् । कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएकाले मात्रै यो सुविधा पाउने जनाइएको छ ।