काठमाडौं:= जनता समाजवादी पार्टी नेपालमा देखिएको विवाद मत्थर भएको छ । कार्यकारिणी समिति बैठकदेखि संघीय परिषद् बैठक र केन्द्रीय समिति बैठकपछि जसपा भित्रको आन्तरिक विवाद मत्थर भएको हो । तीन दिन चलेर सकिएको केन्द्रीय समिति बैठकसँगै विवाद तत्कालका लागि अन्त्य भएको हो ।
यादवले पार्टीमा सामूहिक नेतृत्वको अभ्यास नगरेको भन्दै भट्टराई समूह असन्तुष्ट थियो । अध्यक्ष उपेन्द्र यादवको कार्यकारी अधिकार बाँडफाँट गर्ने निर्णय गरेसँगै पार्टीमा देखिएको विवाद तत्कालका लागि अन्त्य भएको हो । सोमबार सकिएको जसपा नेपालको केन्द्रीय समिति बैठकले शीर्ष तीन नेताहरूको मुख्यालय बनाउने निर्णय गरेको छ ।
पार्टीबाट तत्काल गर्नुपर्ने निर्णयहरूमा हस्ताक्षर गर्नुपर्ने अधिकार अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष डा. भट्टराई र वरिष्ठ नेता अशोक राईलाई समेत दिइएपछि विवाद मत्थर भएको छ । यसअघि यो अधिकार अध्यक्ष यादवसँग मात्र थियो । प्रष्ट वैचारिक-राजनीतिक कार्यदिशा र सुदृढ संगठनात्मक एकताको भावसहित बैठक सम्पन्न भएको संघीय परिषद् अध्यक्ष डा. भट्टराईले जानकारी दिनुभयो ।
उहाँले समावेशी लोकतन्त्र र समावेशी विकासको राजनीति अनि हिमाल-पहाड-तराई जोड्ने संगठन र नेतृत्व भएको पार्टी वैकल्पिक शक्ति बनेको बताउनुभयो । त्यस्तै, जसपा कार्यकारिणी सदस्य राजकिशोर यादवले पनि जसपा भित्रको विवाद सकिएको बताउनुभयो । उहाँले जसपा अब एक भएको बताउनुभयो । ‘पार्टी अब एक भएको छ । पार्टीमा देखिएको विवाद साम्य भएको छ,’ उहाँले भन्नुभयो, ‘अरू समस्याहरू विधान अधिवेशन र महाधिवेशनबाट टुंगो लगाउँछौँ ।’
चुनावमा देशैभरि उम्मेदवारी दिने तयारी
पार्टीभित्रको आन्तरिक विवाद साम्य भएसँगै जसपा अब स्थानीय तह निर्वाचन केन्द्रित हुने भएको छ । केन्द्रीय सदस्य अर्जुन थापाले पार्टी अब स्थानीय तह निर्वाचन केन्द्रित हुने बताउनुभयो । उहाँका अनुसार कार्यकर्ताहरूलाई स्थानीय तहमा प्रभावकारी बनाउन महŒवपूर्ण भूमिका खेल्न भनिएको छ ।
प्रत्येक केन्द्रीय सदस्यलाई आफ्नो कार्य क्षेत्रमा उपस्थित भएर आगामी स्थानीय निर्वाचनमा पार्टीलाई जिताउने अभियान सुरु गर्न भनिएको उहाँले बताउनुभयो । देशका ७५३ वटा गाउँपालिका र नगरपालिका लक्षित गरेर कम्तीमा एकजना केन्द्रीय सदस्य खटाउने योजना बनाइरहेको प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बताउनुभयो । सबै एकताबद्ध भएर स्थानीय चुनावमा केन्द्रित भएको बताउनुभयो । जसपाले देशैभर स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने गरी अभियानसमेत चलाइरहेको छ ।




















