एनआरएनएका पूर्वअध्यक्ष शेष घलेका गतिविधिप्रति एनआरएनएको आपत्ति।

काठमाडौ:= गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले संघको निर्वाचन समिति पुनर्गठन गरी छुट्टै सम्मेलनको आयोजना गर्न लागेकोप्रति एनआरएनए संस्थापन पक्षले आपत्ति जनाएको छ ।

एनआरएनएका अध्यक्ष कुमार पन्तले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाउनुभएको हो । एनआरएनएको निर्वाचन यही मार्च २४ र २५ तारिख हुने तय भइसकेको अवस्थामा आपसी सहमतिबाटै समस्या समाधान गर्न सकारात्मक पहल गर्नुपर्ने उहाँले बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय समन्वय परिषद्को ८२औँ बैठकले संरक्षक परिषद् र उच्चस्तरीय समिति भंग गरिसकेको र संघको विधानले पूर्वअध्यक्षलाई कुनै पनि कार्यकारी अधिकार नदिएको अवस्थामा पूर्वअध्यक्ष घलेबाट चालिएका कदम विधान र संघको परम्पराविपरीत भएको विज्ञप्तिमा उल्लेख छ । घलेका गतिविधिले सम्मानित अदालतको समेत अपहेलना भएको बताइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘केही महिनाअघि परराष्ट्र मन्त्रालयले संरक्षक परिषद्लाई निर्वाचन गराउन दिएको निर्देशनविरुद्ध संघको रिट निवेदनउपर पाटन उच्च अदालतले संघले गठन गरेको निर्वाचन समितिले नै निर्वाचन प्रक्रिया अघि बढाउन अन्तरिम आदेश जारी गरिएको सर्वविदितै छ ।

पूर्वअध्यक्ष घलेद्वारा सञ्चालित गतिविधिले सम्मानित अदालतको समेत अपहेलना हुने हामीले महसुस गरेका छौँ ।’ साथै संघमा विभाजन ल्याउने र समाजमा फुट ल्याउने गतिविधि बन्द गरी सहमतिको वातावरण बनाउन सम्बन्धित सबैलाई आहृवानसमेत गरिएको छ ।