गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतकाे जजिरा एअरवेजले नियमित उडान गर्ने।

भैरहवा := राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एअरवेजले पहिलो व्यावसायिक उडान भर्ने भएको छ ।

जजिराले आउँदाे जेठ २ गते (बुद्ध जयन्ती) देखि नियमित उडान गर्ने गरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिएको छ । प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार जजिराले दैनिक एक नियमित उडान गर्ने गरी निवेदन दिएको छ । जजिराले कुवेत–भैरहवा–कुवेत सिधा उडान गर्नेछ । जजिराले अहिले काठमाण्डाैमा समेत नियमित उडान गरिरहेको छ ।

भर्खरै यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) सम्पन्न भएको गौतमबुद्ध विमानस्थलमा आउँदाे वैशाख १ गते नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले परीक्षण उडान गर्नेछ।

उपमहानिर्देशक कर्णले गौतमबुद्ध विमानस्थलमा वैशाख १ गते परीक्षण उडान भएपछि वैशाख ७ गतेदेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान खुला गरिने जानकारी दिनुभयो । उहाँले व्यावसायिक उडानका लागि आवश्यक सबै तयारी पूरा भएको पनि बताउनुभयो । रासस