भारतले मधेशवासीलाई ग्याँस र चुल्हो सहयोग स्वरुप दिने।

काठमाडौं := भारत सरकारको आर्थिक सहयोगमा मधेश प्रदेशका सर्लाही, रौतहट र सप्तरीका पिछडिएका घरपरिवारलाई एलपी ग्याँस चुल्हो, ग्याँस सिलिन्डरलगायतका सामग्री उपलब्ध गराउन भारतीय राजदूतावास, काठमाडौं र नेपाल-भारत महिलामैत्री समाजबीच भारत-नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

भारत सरकारको दुई करोड चार लाख ९० हजार अनुदान सहयोगमा मधेश प्रदेशका तीन जिल्लामा तीन हजारवटा एलपी ग्याँस चुल्हो, ग्याँस सिलिन्डरलगायतका सामग्री नेपाल-भारत महिलामैत्री समाजमार्फत् उपलब्ध गराइने नेपालस्थित भारतीय दूतावासले जनाएको छ । दूतावासका अनुसार उक्त योजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारतले अघि सारेको ‘इन्डिया छ आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनामध्येको एक हो । जुन दाउरा, कोइला, गुइँठाजस्ता परम्परागत इन्धनमा निर्भर ग्रामीण परिवारसम्म एलपी ग्याँसजस्ता खाना पकाउने इन्धनको पहुँच विस्तार गर्न भारत सरकारले ल्याएको ‘प्रधानमन्त्री उज्ज्वला’ योजनाअन्तर्गतको कार्यक्रम हो ।

सन् २००३ यता भारतले नेपालमा स्वास्थ्य, शिक्षा, खानेपानी तथा सिँचाइ, विद्युतीकरणलगायतका क्षेत्रमा पाँच सय २३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेको छ जसमध्ये चार सय ६७ वटा सम्पन्न भइसकेका छन् । तीमध्ये सर्लाहीका १९, रौतहटका पाँच र सप्तरीका नौ गरी मधेश प्रदेशमा ८१ वटा रहेको दूतावासले जनाएको छ । सो बाहेक भारतले तीन जिल्लामा हालसम्म ८७ एम्बुलेन्स र तीन स्कुल बस उपहारस्वरूप प्रदान गरिसकेको जनाएको छ ।