रूस र युक्रेनबीच अर्को चरणको वार्ता आज हुँदै।

एजेन्सी मस्को := रूस र युक्रेनबीचको युद्ध चर्किएका बेला अर्को चरणको शान्ति वार्ता आज (सोमबार) हुनेभएको छ । तेस्रो चरणको वार्ता सोमबार हुने जानकारी युक्रेनका तर्फबाट वार्ता टोलीका सदस्य डेभिड आरकसानले दिनुभएको छ । उहाँले आफ्नो फेसबुक स्टाटसमा युक्रेन र रूस बीचमा अर्को अर्थात् तेस्रो चरणको वार्ता सोमबार हुने बारेमा जानकारी दिनुभएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि पनि दुई देशबीचमा वार्ता भएको थियो र सो वार्ता युक्रेन र बेलारूसबीचको सीमामा भएको थियो । तर, यसपटक भने वार्ता कहाँ भन्ने बारेमा केही खुलाइएको छैन । रूसी र युक्रेनी अधिकारीबीच भएको पहिलो र दोस्रो चरणको वार्तामा कुनै निष्कर्ष ननिस्किएको अधिकारीले जनाएका छन् ।

यसैबीच रूसी सेनाले दुई हजार ३७ वटा युक्रेनी भौतिक संरचनालाई ध्वस्त पारेको बताएको छ । रूस युक्रेन युद्धको दशौं दिनसम्म सो संख्यामा भौतिक संरचना ध्वस्त भएको रूसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेन्कोभले दाबी गर्नुभएको हो ।

उहाँका अनुसार ७१ कमाण्ड पोष्ट र सञ्चार केन्द्र, ९८ एन्टिएयरक्राप्ट मिसाइल प्रणाली र ६१ वटा राडार केन्द्र छन् । यस्तै, जमिनमा ६६ वटा विमान, आकाशमा १६ वटा विमान, ७०८ वटा ट्यांक, ७४ अध्याधुनिक रकेट रञ्चर, २६१ वटा तोप र मोर्टार, ५०५ वटा विशेष सैनिक गाडी र ५६ वटा सैन्य ड्रोनलाई रूसी सेनाले नष्ट गरेको सिन्हृवा समाचार समितिले उल्लेख गरेको छ ।

यता युक्रेनले एक तथ्यांक जारी गर्दै युद्ध सुरु गरेपछि रूसले ठूलो क्षति व्यहोर्नुपरेको बताएको छ । युक्रेनको दावीअनुसार रूसले युद्ध सुरु भएयता ८८ विमान र हेलिकोप्टर गुमाएको छ । केही रूसी विमान चालकहरू युक्रेनले नियन्त्रणमा लिएको छ । तर, रूसले आफ्नो क्षतिको थोरैमात्र विवरण दिएको छ ।

रूसी सेनाले युक्रेनमा हमला गरेको ११औं दिन आइतबार पनि युक्रेनका विभिन्न शहरमा तीव्र हमला भएका छन् । युक्रेनमा रूसी हमलाका कारण दिनहुँ विस्थापित हुनेको संख्या बढ्दो छ । रूसी हमलाका कारण आइतबारसम्म युक्रेन छाड्ने मानिसहरूको संख्या १५ लाख पुगेको अनुमान गरिएको छ ।

यता अमेरिकी गठबन्धनले रूसमाथि थप आर्थिक नाकाबन्दी लगाएको छ । रूसमा मास्टरकार्ड र भिसा सञ्चालनमाथि निलम्बन गरेपछि रूसी अर्थतन्त्र थप कमजोर हुने आंकलन गरिएको छ । यस्तै, अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनमाथि रूसी हमला भएपछि विश्वमा आर्थिक संकट गम्भीर स्थितिमा पुगेकाले युद्ध थप लम्बिए त्यसको असर विकराल हुने चेतावनी दिएको छ ।

विश्वभरि पैसा पठाउन र झिक्न मिल्ने भिसा माष्टरकार्ड पनि रूसबाट बाहिरिएपछि चीनको युनियनपेले रूसमा कारोबार गर्ने भएको छ । रूसमाथि पश्चिमले विभिन्न आर्थिक प्रतिबन्ध लगाइरहँदा चीनले पश्चिमको भरपर्दो विकल्प उपलब्ध गराउने भएको छ । यसले चीन र रूसको सम्बन्ध थप मजबुत भएर बहुध्रुुवीय विश्वको निर्माणमा टेवा पुग्ने विश्लेषकको भनाइ छ ।