काठमाडौं:= सरकारले गाईको नश्ल सुधारका लागि अमेरिकाबाट साटवटा साँढे नेपाल ल्याएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नश्ल सुधारका लागि पहिलोपटक पाँचवटा जर्सी र दुईवटा होल्स्टीन साँढे ल्याएको हो । विश्व बैंकको सहयोगमा कृषि तथा पशुपक्षी मन्त्रालयको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाअन्तर्गत मेट ग्रुपले ल्याएका साँढे पोखराको लाम्पाटनस्थित राष्ट्रिय प्रजनन्मा राखिने आयोजनाका अनुगमन तथा मूल्यांकन अधिकृत डा. केशव भट्टले जानकारी दिनुभएको छ ।
नौ महिनादेखि एक वर्षका वयस्क ती साँढेबाट केही वर्षभित्रै नश्लसुधार भई देशभरि व्यावसायिक गाईपालन गर्न सहयोग पुग्ने बताइएको छ । अमेरिकाबाट ल्याइएका साँढेबाट होल्स्टीन, जर्सी र स्थानीय जातका गाईलाई कृत्रिम गर्भाधानपछि उत्पादित सिमेन किसानलाई निःशुल्क वितरण गरिने डा. भट्टले जानकारी दिनुभयो ।
विदेशबाट पशु ल्याउनेसम्बन्धी स्पष्ट व्यवस्था नहुँदा र कोरोनाका कारण झण्डै एक वर्षको प्रयासपछि साँढे ल्याउन सकिएको मेट गु्रपका प्रबन्धक निर्देशक सरिन केसीले हिमालय टाइम्सलाई बताउनुभयो । केसीका अनुसार सुरुमा अमेरिकाको सिकागोबाट बंगलादेश हुँदै नेपाल ल्याउने प्रयास असफल भएपछि कोलकाता र दोहाबाट पनि कोसिस गरियो तर सम्भव नभएपछि अन्तिममा नयाँदिल्लीबाट नेपाल वायुसेवा निगमको विमानमार्फत् ल्याइएको हो ।
जिउँदो पशुको हकमा कुनै पनि विमानस्थलमा २४ घण्टाभन्दा बढी राख्न नपाइने प्रावधानका कारण पनि समस्या भएको उहाँले बताउनुभयो । सुरुमा एक करोड ३० लाखमा सम्झौता भएकोमा ढिलासुस्तीका कारण खर्च बढेर दुई करोड पुगेको उहाँको भनाइ छ । प्रतिसाँढे १८ लाखमा खरिद गरिएकामा पछि लागत बढ्न जाँदा झण्डै २६ लाख पर्न गएको छ । साँढे ल्याउन सरकारले मेट ग्रुपसँग सम्झौता गरेको थियो भने ढुवानीमा क्विक फ्रेट लजिस्टिक कम्पनीले सहयोग गरेको थियो।




















