काठमाडौं:= प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज (बिहीबार) मनाइँदैछ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।
ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ । ग्याल्पो ल्होसारको अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईका अनुसार फागुन १६ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको हो । ग्लाल्पो लोसार बौद्ध धर्मावलम्बीको पर्व हो । नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्दछन् ।
ग्याल्पो ल्होसार भोटका नवौं राजा उदे गुङयालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो । समयक्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता बताउँछन् । विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ ।
शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाउँछन् ।




















