काठमाडौं:= आइसीसी टी २० बलिङ वरीयतामा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले १६ स्थान सुधार गरेका छन् ।आइसीसीले बुधबार जारी गरेको वरीयतामा नेपालका लेग स्पिनर सन्दीप ठुलो छलाङ मार्दै वरीयताको ४३औं स्थानमा उक्लिए । यसअघि उनी ५९औं स्थानमा थिए ।
यस्तै, नेपाली टोलीका मिडियम पेस बलर अविनाश बोहरा वरीयताको ८६औं स्थानमा उक्लिए । यसअघि वरीयताको ९८औं स्थानमा रहेका अविनाशले १२ स्थान सुधार गरे ।
टी २० विश्वकपको ग्लोबल छनोटमा सन्दीप र अविनाशले गरेका प्रदर्शनका आधारमा आइसीसीले नयाँ वरीयता सार्वजनिक गरेको हो । यद्यपि छनोटको सेमिफाइनलमा युएईसँग पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना पूरा हुन सकेन ।
वरीयताको शीर्ष स्थानमा दक्षिण अफ्रिकाका बलर तबरेज साम्सी यथावत छन् । यस्तै, दोस्रो स्थानमा अस्ट्रेलियाका जस हेजलउड र तेस्रो स्थानमा इङ्ल्यान्डका आदिल रासिद पनि यथावत् छन् ।




















