७ महिनामा साढे ११ खर्बको आयात, १ खर्ब ३१ अर्बको निर्यात,नेपाललाई आर्थिक घाटा।

काठमाडौं:= सरकारले आयातमा कडाइ गरे पनि आयात घट्न सकेको छैन । चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो सात महिनामा अर्थात् साउनदेखि माघसम्म आयात ४२. ७८ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा कुल ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाखभन्दा बढीको आयात भएको भन्सार विभागले जनाएको छ ।

गत आवको सोही अवधिमा आठ खर्ब तीन अर्ब ६४ करोड ३१ लाख रुपैयाँको आयात भएको थियो । त्यसो त निर्यात पनि वृद्धि भएको छ । निर्यात ८८. ३० प्रतिशतले वृद्धि भएको हो । सात महिनामा एक खर्ब ३१ अर्ब ६५ करोड ६० लाख बराबरको वस्तुको निर्यात भएको विभागले मंगलबार जारी गरेको तथ्यांकमा उल्लेख छ ।

गत आवको सोही अवधिमा ६९ अर्ब ९१ करोड १७ लाख रुपैयाँबराबरको निर्यात भएको थियो । चालु आवको सात महिनामा व्यापार घाटा १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख पुगेको छ । गत आवको सोही अवधिमा सात खर्ब ३३ अर्ब ७२ करोड ६१ लाख व्यापार घाटा थियो ।

नेपालमा एक सय ४५ देशबाट आयात हुने गरेकामा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । सात महिनामा भारतबाट छ खर्ब ९६ अर्ब २४ करोड ४३ लाखभन्दा बढीको आयात भएको छ भने एक खर्ब छ अर्ब ३५ करोड ८३ लाख बराबरको निर्यात भएको छ ।

नेपालको भारतसँग मात्रै पाँच खर्ब ८९ अर्ब ८८ करोड ६० लाख बढीको व्यापार घाटा रहेको छ भने भारतपछि चीनबाट सबैभन्दा बढी आयात हुने गरेको छ । चीनबाट सात महिनामा एक खर्ब ६५ अर्ब २३ करोड ७७ लाखको आयात भएको छ भने ४८ करोड ७९ लाख १५ हजारको मात्र निर्यात भएको छ ।

चीनसँग एक खर्ब ६४ अर्ब ७४ करोड ९८ लाख बराबरको व्यापार घाटा रहेको छ । विभागका अनुसार चालु वर्षको सात महिनामा सबैभन्दा बढी आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ नै रहेको छ । सो अवधिमा झण्डै एक खर्ब ४० अर्ब रुपैयाँ बराबरको एलपी ग्याँस र पेट्रोलियम पदार्थ आयात भएको हो । त्यस्तै सोयाबिनको तेल ४० अर्ब, स्टिल र पाम तेल २९÷२९ अर्ब, मोबाइल सामग्री २८ अर्ब, औषधि २६ अर्ब र सुन २५ अर्ब रुपैयाँ बराबरको आयात भएको छ ।

आयात चुलिएसँगै शोधनान्तर घाटा बढेपछि सरकारले कतिपय वस्तुको आयातमा कडाइ गरेको थियो । राष्ट्र बैंकले केही वस्तुको आयातमा प्रतीतपत्र (एलसी) खोल्दा शतप्रतिशत नगद मार्जिन र केही वस्तु आयातमा एलसी खोल्दा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ  ।

राष्ट्र बैंकले चकलेट, चुइँगम, इनर्जी ड्रिंक, चुरोट, अत्तर, शृंगार सामग्री, स्याम्पु, कपालमा लगाउने तेल, काठका सामग्री र फर्निचर, जुत्ता, टोपी, छाता, कृत्रिम फूल, मार्बल, ट्वाइलेट र भान्छा कोठाका सामग्री, चाँदी, फलामका फर्निचर, प्लास्टिकका फर्निचरलगायत आयातमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तै गाडी आयात गर्दा ५० प्रतिशत मार्जिन राख्नुपर्नेछ । त्यसैगरी सीफुड, दूधको धुलो, अण्डा, गुलाफलगायतका फूल, सुकेको तरकारी, सुपारी, केरा, छोकडा, मरिच, ससेज, कोका, पाउडर, अचार, सोया सस, जुस, कुकुरको दाना, प्लास्टिक सामान, ट्वाइलेट सप र अन्य, मेडिकल पञ्जा, एप्रोन र अन्य, हृयान्ड ब्याग, कार्पेट, पर्दालगायतको आयातमा पनि कडाइ गरेको छ ।