टी-२० विश्वकप क्रिकेटको ग्लोबल छनोट: नेपाल सेमिफाइनल नजिक।

काठमाडौं:= कुशल भुर्तेलको शतकप्रेरित नेपालले ओमानमा जारी टी-२० विश्वकपको ग्लोबल छनोटको दोस्रो खेलमा फिलिपिन्सलाई १३६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । शनिबार अलअमिरात क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २१९ रनको लक्ष्य पछ्याएको फिलिपिन्स निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८२ रनमा समेटियो ।

फिलिपिन्सका जोर्ड अलेग्राले सर्वाधिक २७ रन जोड्नुभयो । ३२ बलमा उहाँले २ चौका प्रहार गर्नुभएको थियो । यस्तै डानियल स्मिथले २७ बलमा २ चौकासहित २० तथा कप्तान जोनाथन हिलले २९ बलमा ११ रन थप्नुभयो । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सक्नुभएन ।

नेपालका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ९ रनमात्रै दिएर ३ विकेट लिनुभयो । यस्तै गुल्शन झा, जितेन्द्र मुखिया, अविनाश बोहरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान १-१ विकेट हात पार्नुभएको थियो ।

त्यसअघि कुशल भुर्तेलले शतकीय पारी खेल्नुभएपछि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१८ रनको योगफल तयार पारेको थियो । भुर्तेलले ६१ बलमा अविजित १०४ रनको पारी खेल्नेक्रममा १३ चौका र एक छक्का प्रहार गर्नुभयो । उहाँ टी-२० अन्तर्राष्ट्रियमा पूर्वकप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लपछि शतक प्रहार गर्ने तेस्रो खेलाडीसमेत बन्नुभयो ।

तेस्रो विकेटका लागि भुर्तेल र दीपेन्द्रसिंह ऐरीले १७१ रनको साझेदारी गर्नुभएको थियो । दीपेन्द्रले ४७ बल खेल्दै ८३ रन बनाउनुभयो । उहाँले ६ चौका र ४ छक्का प्रहार गर्नुभएको थियो । नेपालका अर्का ओपनर आसिफ शेख शून्य र कुशल मल्ल १२ रन बनाएर आउट हुनुभयो । यस्तै लोकेश बम ६ रनमा नटआउट रहनुभयो ।

जितसँगै नेपाल छनोटको समूह ‘ए’ मा ४ अंकसहित शीर्ष स्थानमा छ । यसअघि शुक्रबार भएको खेलमा नेपालले ओमानलाई ३९ रनले पराजित गरेको थियो । क्यानडा र ओमानको समान दुई÷दुई अंक भए पनि रनरेटका आधारमा क्यानडा दोस्रो र ओमान तेस्रो स्थानमा छ । दुवै खेल हारेको फिलिपिन्स पुछारमा छ । अब अन्तिम खेलमा नेपालले सोमबार क्यानडाको सामना गर्नेछ । अंकतालिकाको शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।