काठमाडौं := क्यासिनोहरुले लामो समयदेखि बक्यौता रहेको रोयल्टीबापतको रकम धमाधम तिर्न थालेका छन् । पर्यटन विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ मा मात्र डेढ दर्जन क्यासिनोले सरकारलाई रोयल्टी तथा नविकरण दस्तुर बुझाइसकेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पछिल्लो समय क्यासिनोहरुमाथी निगरानी राख्न र कारवाही गर्न थालेपछि बक्यौता रहेको रोयल्टीबापत्तको रकम धमाधम तिर्न थालेका छ्न। मन्त्रालयले सोमबार उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७८/७९ मा मात्र क्यासिनोबाट सरकारले ७५ करोड ४५ लाख रुपैयाँ असुल उपर गरिसकेको छ । यस्तो राजस्व निवेदन दस्तुर, इजाजत दस्तुर, नविकरण दस्तुर तथा रोयल्टीका माध्यमबाट उठ्ने गर्छ।
पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्यासिनोमाथि कडाई गरि रोयल्टी बक्यौता भुक्तानीमा जोड दिएपछि रोयल्टी आउने क्रम बढेको छ । सोमबार मात्र सेन्ट्रल मिडिया प्रालिले सरकारलाई ४ करोड रुपैयाँ रोयल्टी बुझाएको छ ।
यस वर्ष १४ करोड २० लाख बैंक जमानत जम्मा
क्यासिनो सञ्चालनका लागि क्यासिनोहरुले राख्नु पर्ने बैंक ग्यारेन्टीमा समेत यस वर्ष उल्लेख्य प्रगति देखिएको छ ।
मन्त्रालयको तथ्यांक अनुसार बैंक जमानत रकम १४ करोड २० लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७६/७७ सम्म क्यासिनोहरुले कुल ८४ करोड ८४ लाख ४७ हजार ८ सय ८४ रुपैयाँ राजस्व तिर्न बाँकी थियो ।
कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमा १ अर्ब ९० करोड ९९ लाख ५५ हजार ९ सय २६ रुपैयाँ बराबरको लगत कसिएको थियो । त्यसरी लगत कसिएका क्यासिनोलाई मन्त्रालयले कडाइ गरेसँगै राजस्व आउने क्रम बढेको हो ।
मन्त्रालयका अनुसार रोयल्टी नबुझाउने क्यासिनो सञ्चालकहरुलाई निरन्तर ताकेता गर्ने क्रम बढाइएको छ । सम्पर्कमा नआउने क्यासिनो सञ्चालक र होटलमाथि सरकारले कारवाही गरेको हो । सोही अनुसार होटल याक एण्ड यति सरकारले बन्द गराएको छ ।
कुन क्यासिनोले कति तिरे ?
पर्यटन विभागले उपलब्ध गराएको तथ्यांक अनुसार यस वर्ष हायात होटलमा रहेको प्राइड इन्टरटेन्मेन्ट प्रालि, होटल अन्नपूर्ण डेलामार रहेको एटलाइन्टिक रिक्रियसन प्रालि, मल्ल होटलमा रहेको बल्लिज नेपाल प्रालि र इभरेष्ट होटलमा रहेको डेन्टइन नेपाल प्रालिले ६ करोड ५० लाखका दरले राजस्व तिरेका छन् ।
यस्तै बाँकेस्थित भ्यू होटल सिद्धार्थमा रहेको ज्याकपट गेमिङ सेन्टर र बाराको इच्छा होटल परिसरमा रहेको स्माइल कलेक्सनले २/२ करोड रुपैयाँ राजस्व तिरेका छन् ।
बाँकेको होटल सोल्टी शिवक्रिम होटल्स तथा रिर्सोटमा रहेको इम्पेरियल इन्टरटेन्मेन्ट र सोल्टी होटलमा रहेको माजोङ इन्टरटेन्मेन्टले समेत ६ करोड ५० लाखका दरले रोयल्टी बुझाएका छन् ।
विभिन्न चार स्थानमा सञ्चालित रक इन्टरनेशनले ४ करोड, होटल निर्वाण भैरहवामा रहेको निर्भाना लक्जरीले १ करोड, होटल स्नेहा नेपालगन्जमा रहेको बेलिज इन्टरटेन्मेन्टले २ करोड ५ लाख रुपैयाँ रोयल्टी बुझाएका छन् ।
झापास्थित होटल मेची क्राउनमा रहेको भेगस रिक्रियसन प्रालिले ६ करोड ६० लाख, बाँकेस्थित होटल स्टारलाइटमा रहेको भेन्यू रिक्रियसन प्रालिले २ करोड ५ लाख, भैरहवास्थित होटल नान्स परिसरमा रहेको सिद्धार्थ गेमिङ जोन प्रालिले २ करोड ५ लाख, बाँकेस्थित कल्पतरु होटल एण्ड कौशिकी बैंकेटमा रहेको ओम क्रयम्बकम इन्टरटेन्मेन्टले २ करोड ५ लाख र बाँकेको नेपालगञ्जस्थित होटल सिटी प्यालेसमा रहेको सेपियर इन्टरटेन्मेन्टले समेत २ करोड ५ लाख रुपैयाँ राजस्व तिरेको छ । होटल अलफ्टमा रहेको बाल्डो डाइनेष्टी इन्टरटेन्मेन्टले ६ करोड ६० लाख रुपैयाँ राजस्व तिरेको छ ।
मन्त्रालयका अनुसार विभिन्न स्थानमा क्यासिनो चलाउने सेन्ट्रल मिडिया प्रालिले सोमबार ४ करोड बुझाएसँगै यो वर्ष राजस्व ७५ करोड ४५ लाख रुपैयाँ संकलन भएको हो ।
यो खबर अनलाइन खबर पत्रीकामा अच्युत पुरीले लेखेका छ्न।




















