[ राम अवतार चाैधरी ]
कपिलवस्तु:= तराईका अधिकांश जिल्लाहरु खेतीयोग्य हुन्छन्। जहाँ आम नागरिक कृषि पेशमा आत्मनिर्भर छन् । कतै खाद्यान्न बाली त कतै नगदे बाली खेती गर्ने गरिन्छ । खेतीपातीकाे सिजनमा मल अभाव देखि लिएर सिँचाइकाे समेत उचित व्यवस्थापन नहुँदा बर्सेनि किसान समस्या झेल्दै आएका छन् ।
अहिले तराईका विभिन्न जिल्लामा कृषकहरुकाे उखु खेती गर्ने समय छ । जसमध्ये नगदे बाली उत्पादन हुने स्थान कपिलवस्तु पनि एक हाे । प्रत्येक बर्ष झै यस बर्ष पनि खेतीपातीकाे समयमा मल अभाव हुन थालेकाे छ ।
कपिलवस्तुकाे मुख्य नगदे बाली उखुका लागि मल आभाव हुन थालेपछि किसान चिन्तित बनेका छन् । उखु खेतीले किसानहरुलाई आय आर्जनमा मद्दत गर्ने हुनाले उखु खेतीप्रति किसान आकर्षित हुँदै आएकाे स्थानीय कृषक बताउँछन् । मलकाे समस्या समाधान गर्नुपर्नेमा सराेकारवालाले जाेड दिए पनि बर्सेनि मल अभावको समस्या भने हट्न सकेको छैन् ।
तराई कै कृषि मन्त्री भए पनि मल, बीउ ,सिँचाइ जस्ता किसानका समस्या समाधान गर्न नसकेकाे कपिलवस्तु किसान संघका अध्यक्ष अनुप कुमार चाैधरीले बताए । सराेकारवालाले समस्या समाधान गर्न पहल नै नगरेकाे आराेप लगाउँदै निष्क्रिय भइ भ्रष्टाचारकाे पक्षपाेषण गरेकाे उनले जिकिर गरे ।
सरकारले किसानहरू खेतीपाती गर्दै बालीकाे उत्पादन गर्ने कृषकहरूकाे तथ्यांक संकलन गरि सिजन अनुसारकाे मल सहजरुपमा उपलब्ध गराउनुपर्ने समेत अध्यक्ष चाैधरीले बताए ।जिल्लाकाे कृष्णनगर नगरपालिका बहादुरगञ्जमा रहेकाे कृषि सामग्री संस्थानका अधिकृत तारा खनालले अहिले जीटुजी सम्झाैता हुन नसकेकाे र भण्डारण क्षमता २ हजार मेट्रिक टनकाे हुनुपर्नेमा पुरानै अनुपातमा मात्र ५ सय मेट्रिक टनकाे रहेकाेले मल आपूर्तिमा समस्या देखिएकाे बताए ।

कपिलवस्तुकाे ५ स्थानीय तहमा मलखाद वितरण गर्ने जिम्मा पाएकाे संस्थानले सदरमुकाम ताैलिहवा भन्दा कम मल पाउँदै आएकाेले पनि मल आभाव छिट्टै देेखिने गरेकाे अधिकृत खनालकाे भनाई छ । अधिकृत खनालका अनुसार अहिले कै समयमा यदि सम्झाैता भयाे भने किसानलाई चाहिने मल कम्तिमा दुई महिनासम्म कुर्नैपर्ने बताइएको छ ।
कृषि सामाग्री संस्थान बहादुरगञ्जले जिल्लाकाे कृष्णनगर , विजयनगर, शिवराज, महराजगञ्ज, बुद्धभुमी लगायतकाे पालिकामा आसार सम्ममा दुई हजार मेट्रिक टन मलकाे आवश्यकता पर्दछ । तर कृषकलाई हुँदै आएकाे समस्याप्रति सरकारकाे उदासीनताले उत्पादन भन्दा लगानी बढी लाग्ने अवस्था छ ।




















