काठमाडौं:= लोकगायक जयनन्द लामाले दुई दशक लामो अन्तरालपछि मौलिक लोकगीत ‘महाभार लेकको जंगलमा याला’ दर्शकमाझ ल्याउनु भएको छ। उहाँले आफ्नै युट्यबमार्फत गीत सार्वजनिक गर्नु भएको हो।
गायक लामाकै शब्द र संगीत रहेको लोकगीतमा दीपा लामा, बाबु जिम्बा, आरबी लामा, दाबा फिन्जो तामाङ, शशीकला मोक्तान र अञ्जु थोकरको पनि स्वर सुन्न सकिन्छ । गीतमा संगीत संयोजन छेवाङ तेन्जिङ लामा र मिक्सिङ कारसाङ लामाको छ ।
ल्होसारको अवसर पारेर सार्वजनिक गरिएको गीतको भिडियोमा कलात्मक र सांस्कृतिक नृत्य प्रस्तुत गरिएको छ । इन्द्र गुरुङद्वारा निर्देशित म्युजिक भिडियोमा गायक स्वयं जयनन्द लामाका साथमा डोमा ह्योल्मो, दाब फिन्जो तामाङ, बाबु जिम्बा, श्याममाया गुरुङ, सकु तामाङ फिचर्ड हुनुहुन्छ ।
सेवा फिल्मसको दृश्य निर्माण र सुरेन्द्र थिङको निर्माणमा बनेको म्युजिक भिडियोको छायांकन मरुभूमि नारायण र सम्पादन बाबु जिम्बाले गर्नु भएको छ। गायक लामाले आफूले झन्डै ४० वर्षअघि संकलन गरेको गीत गाएको बताउनुभयो । ‘यो पहाडी र हिमाली शृंखलाको बीचमा बस्ने सम्पूर्ण नेपालीको पूरानो र मौलिक परम्परागत गीत हो’, जयनन्दले भन्नु भयो, ‘यो कुनै जात विशेषको गीत नभई ती भेकमा हरेक चाडपर्वमा पुर्खादेखि अहिलेसम्म पनि नाच्दै गाइने गीत हो ।’
पाँच दशकअघि गायन यात्रा सुरू गरेका लामाले लोकगीत, दोहोरीगीत, गीति नाटक गरी दुई सय बढी गीत गाउनु भएको छ । गायक लामा पछिल्लो समयमा फिल्मी अभिनयमा व्यस्त हुनु हुन्छ।
तलको लिङ्कमा क्लिक गरेर भिडियो हेर्नुहोस् :




















