काठमाडौं:= नयाँ नेपाली चलचित्र ‘बर एण्ड बधु’ निर्माण हुनेभएको छ । हाल ‘गोर्खा वारियर २’ को छायांकनमा व्यस्त रहनुभएका मिलन चाम्सले नयाँ चलचित्र ‘बर एण्ड बधु’ बनाउने घोषणा गर्नुभएको हो ।
मिलनका अनुसार ‘गोर्खा वारियर २’ को छायांकन सकाएर फागुनबाट ‘बर एण्ड बधु’ को छायांकन गरिनेछ । कमेडी र लभ स्टोरी कथामा तयार हुन लागेको ‘बर एण्ड बधु’ मिलन आफैँले निर्देशन गर्न लाग्नु भएको हो । चलचित्रबारे मिलनले भन्नुभएको छ, ‘कोरोनाको तेस्रो लहर कम भयो भने हामी फागुनबाट फिल्मको छायांकन सुरु गर्छौ । अभिनेत्री आँचल शर्मा मुख्य भूमिकामा रहनेछिन् ।’
चलचित्रमा आँचल ‘बधु’को भूमिकामा देखिने बताउनुभएका मिलनले ‘बर’को भूमिकाका लागि नयाँ अनुहार खोजिरहेको जानकारी दिनुभयो । एल.आर.के इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुनलागेको चलचित्रको बाँकी कलाकार र प्राविधिक केही दिनमै एक कार्यक्रम मार्फत सार्वजनिक गर्ने निर्माण युनिटको योजना रहेको छ ।




















