काठमाडौं := बजारमा भन्सार छलेर ल्याएको मदिरा बिक्री वितरण भइरहेको पाइएको छ । ‘अपरेसन लिमा’ नाम दिएर प्रहरीले गरेको अनुसन्धानमा बजारमा भन्सार छलेर मदिराजन्य पदार्थ बिक्री वितरण गर्ने गरेको पाइएको हो ।
प्रहरीले ठूलो परिणाममा भन्सार छलेर ल्याइएका मदिरासहित चारजनालाई पक्राउसमेत गरेको छ । करिब साढे एक करोड रुपैयाँ मूल्यबराबरका रेड लेबल, एब्सोल्युट भोड्का र ब्ल्याक लेबलसहित चारजनालाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिनुभयो ।
उहाँका अनुसार उनीहरूको साथबाट २९६ कार्टुन मदिरा बरामद गरेको छ । पक्राउ पर्नेमा ३९ वर्षीय सन्तोष चन्द्र बाख्रेल, ३० वर्षका सैलेश पन्त, २८ वर्षका रवीन पाख्रिन र ४० वर्षका नारायणप्रसाद घिमिरे रहेको उहाँले जानकारी दिनुभयो । बरामद मदिरा नक्कलीसमेत हुनसक्ने उहाँले आशंका गर्नुभयो। उनीहरूले बजार मूल्यभन्दा सस्तोमा मदिरा बेच्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले मदिराको गुणस्तर परीक्षणका लागि खाद्य तथा गुण नियन्त्रण विभागमा नमुना पठाएको छ । थप अनुसन्धान तथा कारबाहीको राजस्व अनुसन्धान विभाग, हरिहर भवन ललितपुर पठाएको महाशाखाले जनाएको छ । गुणस्तर परीक्षणपछि आउने नतिजाका आधारमा थप अनुसन्धान हुने प्रहरीको भनाइ छ । यसबारे थप अनुसन्धान भइरहेको कोइरालाको भनाइ छ ।
उनीहरूसम्म प्रहरी कसरी पुग्यो ?
भन्सार छलेर ठूलो परिमाणमा महँगा मदिरा नेपाल भित्रिरहेको सूचना प्रहरीले केही दिनअघि नै पाएको थियो । त्यही सूचनाका आधारमा अपराध महाशाखाको टोलीले ‘अपरेसन लिमा’ सुरु ग¥यो । अपराध महाशाखाका प्रवक्ता एसपी कोइरालाका अनुसार सूचना पछ्याउँदै गएको प्रहरी सुरुमा नारायणप्रसाद घिमिरेसम्म पुग्यो । उनलाई १४ कार्टुन रेडलेबलसहित पक्राउ गरियो । उनले दिएको प्रारम्भिक सूचनाका आधारमा प्रहरी अघि बढ्यो र ठूलो परिणाममा मदिरासहित थप तीनजनालाई पक्राउ गर्न प्रहरी सफल भयो ।
‘करिब १०÷१२ दिन अगाडि बजारमा राजस्व छलिका र नक्कलीसमेत हुनसक्ने मदिराहरू बिक्री वितरण भइरहेको भन्ने सूचना अपराध महाशाखामा पुगेको थियो । महाशाखाले निगरानीका लागि टोली परिचालन गरेको थियो,’ एसपी कोइरालाले भन्नुभयो, ‘सुरुमा १४ कार्टुट रेडलेबलसहित नारायणप्रसाद घिमिरेलाई सुरुमा पक्राउ ग¥यौँ । उनीसँगको प्रारम्भिक सोधपुछपछि प्रहरी अन्य व्यक्तिसम्म पुग्न सफल भयो र ठूलो परिणाममा मदिरा बरामद भयो ।’ बरामद मदिरा भारतबाट ल्याउने गरेको पाइएको उहाँले बताउनुभयो ।
रवि भन्ने भारतीय नागरिक र सन्तोषचन्द्र बख्रेलको योजनामा भारतबाट राजस्व छली गरी विभिन्न ब्राण्डका मदिरा बिक्री हुने गरेको अनुसन्धानमा खुलेको छ । बख्रेलले तीन महिनाअघि पहिलोपटक १६० कार्टुन, दोस्रोपटक २०० कार्टुन र तेस्रोपटक ३०० कार्टुन ब्ल्याक लेबल, रेड लेबल, चिभास रिगल र एब्सुलेट भोड्का ल्याई गैरकानुनी रूपमा बिक्री वितरण अनुसन्धानमा खुलेको कोइरालाले जानकारी दिनुभयो ।
सस्तो मूल्यमा पार्टी प्यालेसमा बिक्री वितरण
भन्सार छली ल्याइएको मदिरा सस्तो मूल्यमा बजारमा बेच्ने गरेको पाइएको प्रहरी अनुसन्धानले देखाएको छ । विभिन्न ब्राण्डका मदिरा ड्युटी फ्री को हो भनी ग्राहकलाई विश्वास दिलाई बिक्री गर्ने गरेको पाइएको एमपी कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त मदिराहरू विशेषत पार्टी प्यालेसमा बिक्री वितरण हुने गरेको पाइएको छ । ‘यी मदिरा भारतबाट मगाएको पाइएको छ,’ एसपी कोइरालाले भन्नुभयो, ‘भारतबाट आइसकेपछि विभिन्न लिकर्समार्फत बजारमा बिक्री हुँदो रहेछ । विशेषगरी पार्टी प्यालेसमा बिक्री हुँदो रहेछ ।’
नयाँबजारस्थित घरबाट ठूलो परिमाणमा सुर्तीजन्य पदार्थ बरामद
मदिराविरुद्धको ‘अपरेसन लिमा’ सञ्चालन गरिरहेको प्रहरीले ठूलो परिमाणमा सुर्तीजन्य पदार्थ पनि बरामद गरेको छ । विदेशी ब्राण्डका मदिराहरू राजस्व छलीसम्बन्धी कसुरको अनुसन्धानको सिलसिलामा पक्राउ परेका सन्तोष चन्द्र बख्रेलले राजस्व छली गरी अन्य व्यवसायसमेत गर्ने गरेको सूचनाको आधारमा प्रहरीले ठूलो मात्रामा सुर्तीजन्य पदार्थ बरामद गरेको हो ।
महाशाखाको विशेष टोलीले बख्रेलले भन्सार छली ल्याएको सुर्र्तीजन्य पदार्थहरू तथा सोको खाली प्याकेटहरू, विभिन्न कस्मेटिकका सामानहरू बरामद गरिएको जनाएको छ । बख्रेलले नयाँबजार खुशिबुस्थित घर भाडामा लिई ठूलो परिमाणमा भण्डारण गरी राखेको अन्दाजी ५० लाख बराबरको सुर्तीजन्य पदार्थ र कस्मेटिक पदार्थ बरामद गरेको हो ।
प्रहरीका अनुसार सुर्तीको धुलो रहेका एक सय थान बोरा (२५ सय किलो), ओपालेन लेखेको सुपरपावर सुर्तीको बोराहरू २९ थान (५८० किलो), ब्रेस्ट अप लेखेको कार्टुन एक थान, डोव स्याम्पु रहेको एप्पल लेखेको ठूलो कार्टुन ९७ थान बरामद गरेको जनाएको छ ।
त्यस्तै, ओरिहेक्स प्लस, ओसिबी स्लिम लेखेको बोरा तीन थान, १४५ बण्डल चुरोट रहेको कार्टुन तीन थान र १० लेखेको चुरोट ६४० बण्डल रहेको ठूलो बोरा ६ थान बरामद गरेको जनाएको छ । बरामद सामान अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग, हरिहर भवन ललितपुर पठाइएको र सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




















