सोउल एजेन्सी := उत्तर कोरियाले फेरि अर्को मिसाइल परीक्षण गरेको छ । यो मिसाइल उत्तर कोरियाले पछिल्लो पाँच वर्षयताकै शक्तिशाली भएको एजेन्सीहरूले उल्लेख गरेका छन् । आइतबार बिहान परीक्षण गरेको मिसाइल सन् २०१७ यताकै शक्तिशाली रहेको हो ।
उत्तर कोरियाले स्थानीय समयानुसार आइतबार बिहान ७ बजेर ५२ मिनेट जाँदा पूर्वी तटीय क्षेत्रबाट मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरियाले यो जनवरीमा मात्रै सातौं पटक मिसाइल परीक्षण गरेको हो । अमेरिका, जापान र दक्षिण कोरियाले मिसाइल परीक्षणलाई लिएर उत्तर कोरियाको आलोचना गर्दै आएका छन् । व्यालेस्टिक मिसाइल तथा परमाणु हतियार परीक्षण गर्न नपाउने गरी संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएको छ । तर, उत्तर कोरियाले लगातार मिसाइल परीक्षण गर्दै आएको छ ।
अमेरिकाले उत्तर कोरियाको निरन्तरको व्यालेस्टिक तथा परमाणु हतियार परीक्षणपछि प्रतिबन्ध कडा बनाउँदै लगेको छ । तर, पूर्वी एसियाली देशहरूले उत्तर कोरियामाथिको प्रतिबन्धको विरोध गर्दै आएका छन् । उत्तर कोरियाले पनि प्रतिबन्धको विरोधमा परमाणु हतियार परीक्षण थप बढाउँदै गएको छ । नेता किम जोङ उनले आफ्नो देशको सुरक्षा मजबुद बनाउन परमाणु हतियार परीक्षण बढाउने दाबी गर्दै आउनुभएको छ ।
आइतबार बिहान परीक्षण गरिएको मिसाइल सन् २०१७ को नोभेम्बर यता परीक्षण गरिएको सबैभन्दा ठूलो क्षेप्यास्त्र हो । जापानी र दक्षिण कोरियाली अधिकारीका अनुसार यो क्षेप्यास्त्र दुई हजार किलोमिटर उचाइमा पुग्न सक्ने र ३० मिनेटसम्म ८ सय किलोमिटरको दूरीमा उड्न सक्ने क्षमताको छ ।




















